२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

सत्य अल्पमतमा भए पनि अन्ततः जित्छ : नकुल काजी



बिर्तामोड-प्रेस चौतारी झापाको ‘अग्रजलाई सुनौँ’ कार्यक्रमको चौथो शृङ्खलामा अग्रज पत्रकार नकुल काजीले पत्रकारितामा निष्पक्षता र सत्यको पक्षमा अडिग रहन आग्रह गरेका छन् । शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा उनले सत्य सधैं बहुमतमा नहुने तर अन्ततः त्यसकै विजय हुने बताएका हुन् ।

पत्रकारितामा बढ्दो कित्ताकाँटप्रति चिन्ता व्यक्त गर्दै काजीले समाचारमा दलीय आस्था झल्किन नहुनेमा जोड दिए । ‘पत्रकारिताको मूल आधार निष्पक्षता हो’, उनले भने, ‘पत्रकारले कुनै पनि हालतमा पक्षधरता देखाउन हुँदैन ।’

३६ वटा पुस्तक प्रकाशन गरिसकेका काजीले पत्रकारिता यात्रामा भोग्नुपरेका चुनौती, अभाव र संघर्षका अनुभव सहभागीमाझ सुनाए । पत्रिका प्रकाशनका क्रममा तत्कालीन पञ्चायती शासनबाट पटक-पटक दुःख पाएको, प्रशासनिक दबाब झेल्नुपरेको र हिरासतमा बस्नुपरेको अनुभव उनले सुनाए ।

झापाको पुरानो पत्रिका विवेचनाका संस्थापक सम्पादक काजीले उक्त पत्रिकालाई साप्ताहिकबाट अर्धसाप्ताहिक हुँदै दैनिक रूपमा प्रकाशन गरेका थिए । कार्यक्रममा उनले विवेचना पुनः नियमित रूपमा प्रकाशन हुनुपर्ने धारणा राखे । पछिल्लो पटक पत्रकार सुब्रत न्यौपानेको सम्पादनमा प्रकाशित हुँदै आएको विवेचना दैनिक कोरोना महामारीपछि बन्द अवस्थामा छ ।

कार्यक्रममा लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीले नकुल काजीको व्यक्तित्व र योगदानबारे प्रकाश पार्दै उनलाई बहुआयामिक व्यक्तित्वका रूपमा चित्रण गरे ।

प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा  कार्यक्रम भएको हो । हरेक ती महिनामा अग्रजलाई सुनौँ कार्यक्रम सञ्चालन हुँदै आएको छ । चौथो शृङ्खलाका रूपमा काजीलाई आमन्त्रण गरिएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार ००:००  ७ : २४ बजे