बिर्तामोड-झापाको बिर्तामोड नगरपालिकाले उत्कृष्ट तीन शिक्षकलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको छ। शिक्षा क्षेत्रमा योगदानको मूल्यांकन गर्दै नगरपालिकाले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहबाट एक-एक जना शिक्षक छनोट गरेको हो।
प्राथमिक तहतर्फ जनता आधारभूत विद्यालयकी सरिता खतिवडा, निम्न माध्यमिक तहतर्फ महेन्द्ररत्न माविका विजय प्रकाश उप्रेती र माध्यमिक तहतर्फ सोही विद्यालयका लक्ष्मीप्रसाद प्रसाई उत्कृष्ट शिक्षकका रूपमा पुरस्कृत भएका छन् । उनीहरूलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले पछिल्ला तीन वर्षदेखि शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको उपसचिव तिलचन भण्डारीले बताए ।’ यसले शिक्षण पेसामा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुका साथै गुणस्तरीय शिक्षा सुधारमा टेवा पुगेको छ’, उनले भने ।
कार्यक्रममा नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले शिक्षकको भूमिका शिक्षा सुधारको केन्द्रमा रहेको उल्लेख गर्दै उत्कृष्ट कार्य गर्ने शिक्षकलाई सम्मान गर्ने परम्परा निरन्तरता दिइने बताइन्। उनले स्थानीय तहको सक्रियतासँगै विद्यालय तहमा सकारात्मक परिवर्तन देखिन थालेको दाबी गरिन्।
उत्कृष्ट शिक्षक छनोट समितिका संयोजक युवराज पाण्डेले निर्धारित मापदण्डका आधारमा शिक्षक छनोट गरिएको जानकारी दिए। कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो प्रोत्साहनले शिक्षण पेसामा उत्साह बढाउने धारणा राखेका थिए।


















