७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

इन्धनमा फेरि भारी मूल्यवृद्धि, ग्यास २ हजार नाघ्यो



काठमाडौँ– पेट्रोल, डिजेलसँगै खाना पकाउने एलपी ग्यासको मूल्यमा फेरि भारी वृद्धि भएको छ। नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएको जनाउँदै बिहीबार मध्यरातदेखि लागू हुने गरी नयाँ दर सार्वजनिक गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। यससँगै पेट्रोलको मूल्य क्षेत्रअनुसार २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम भएको निगमले जनाएको छ।

खाना पकाउने १४.२ केजी एलपी ग्यासको मूल्य २ हजार १० रुपैयाँ पुगेको छ। हवाई इन्धन आन्तरिकमा पनि प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ।

मूल्य बढाए पनि निगम अझै घाटामा रहेको दाबी गरिएको छ। निगमका अनुसार हाल पनि पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा भइरहेको छ।

घाटा निरन्तर बढे इन्धन आपूर्तिमा असर पर्न सक्ने चेतावनी दिँदै उपभोक्तालाई मितव्ययी प्रयोग गर्न आग्रह गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको दबाबका कारण नेपालमा इन्धन महँगिएको निगमको भनाइ छ। विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्वले आपूर्ति शृंखलामा असर परेपछि एसियाली बजारमै अभाव देखिएको छ।

इन्धन अभाव चुलिँदै जाँदा सरकारले ऊर्जा बचतका उपायस्वरूप शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयसमेत कार्यान्वयनमा ल्याएको छ। यसअघि पनि पछिल्ला महिनामा तीनपटकसम्म मूल्य समायोजन भइसकेको छ।

सरकारले चैत २४ गते इन्धनको मूल्य नियन्त्रण गर्न भन्सार महशुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएको थियो। त्यसका बाबजुद उपभोक्ताले राहत नपाएको गुनासो बढ्दो छ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार ००:००  १० : ३० बजे