झापा-झापाको अर्जुनधारा-नगरपालिकाबाट प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौरादह–३ का ३७ वर्षीय धनबहादुर राजवंशी, ३० वर्षीया सृजना राई र अर्जुनधारा–११ का ४५ वर्षीय तिनतालु राजवंशी रहेका छन् ।
विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई अर्जुनधारा-६ अधुवा खोलानजिकबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सोही क्षेत्रमा डेरा गरी बस्दै आएका धनबहादुरको कोठामा लागूऔषध कारोबार भइरहेको सूचनापछि दिउँसो छापा मारिएको थियो । तलासीका क्रममा प्लास्टिक बाहेक २२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्लामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण गर्न ‘अपरेशन ब्राउन’ अभियान सञ्चालन भइरहेका बेला उक्त सफलता हात परेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
















