२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

लेखापढी व्यवसायीको आन्दोलन : सेवा अवरुद्ध, भद्रपुरमा भू-सेवा केन्द्र बन्द



झापा-लेखापढी कानुन व्यवसायीले प्रशासनिक हस्तक्षेप र धरपकडको विरोधमा आन्दोलन सुरु गरेका छन्। आन्दोलनका कारण भद्रपुरस्थित भू–सेवा केन्द्रसहित सेवा प्रभावित भएको छ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, इकाई समिति भद्रपुर झापाले प्रेस विज्ञप्ति जारी गर्दै राज्यका निकायबाट पेशागत मर्यादामाथि हस्तक्षेप बढेको आरोप लगाएको हो।

विज्ञप्तिमा न्यायिक तथा अर्धन्यायिक निकायबाट अनुमति लिएर नियमअनुसार काम गर्दै आएको अवस्थामा पनि अनावश्यक हस्तक्षेप र धरपकड भएको उल्लेख गरिएको छ।

एसोसिएसनका अध्यक्ष निरज पोखरेलका अनुसार सुशासनको नाममा लेखापढी व्यवसायीमाथि बारम्बार दबाब र कारबाही भइरहेको छ। ‘नियमभित्र रहेर काम गर्दा पनि प्रशासनिक हस्तक्षेप बढ्दै गएको छ’ उनले भने ।

सचिव मुरारी न्यौपानेले पेशागत सुरक्षाको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए। ‘धरपकड तत्काल बन्द गरी पेशागत सुरक्षा सुनिश्चित गर्नुपर्छ’ उनले भने।

विज्ञप्तिमा हालका गतिविधिका कारण सेवा लिन आउने सेवाग्राहीमा असुविधा परेकोप्रति क्षमायाचना गरिएको छ। समस्या समाधान नभएसम्म एसोसिएसनद्वारा सञ्चालित तथा लेखापढी व्यवसायीले सञ्चालन गरेका भू-सेवा केन्द्र बन्द गरिएको जनाइएको छ।

लेखापढी व्यवसायीहरूले प्रशासनसँग संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार ००:००  ५ : ४९ बजे