काठमाडौँ– भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत र नापी कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गर्न निर्देशन दिएको छ। विभागले जारी गरेको परिपत्रमा अभिलेख तथा कागजातको सुरक्षा कमजोर हुँदा समस्या बढेको औंल्याइएको छ।
विभागका शाखा अधिकृत कुलप्रसाद पराजुलीले कार्यालयहरूमा बाह्य व्यक्तिको अनियन्त्रित प्रवेशले अभिलेख व्यवस्थापनमा जोखिम बढेको बताएका छन्।
‘कार्यालयहरूमा अनधिकृत व्यक्तिहरू प्रवेश गरी कागजात चलाउने, एक शाखाबाट अर्को शाखामा लैजाने तथा अभिलेखमा पहुँच राख्ने गतिविधि देखिएको छ,’ पराजुलीले भने, ‘यस्ता गतिविधिले अभिलेखको सुरक्षा र विश्वसनीयतामै असर पुर्याएको छ।’
उनले यस्तो अवस्थालाई नियन्त्रण गर्न तत्काल कडाइ गर्न आवश्यक रहेको बताएका छन्। ‘कार्यालयभित्र अनधिकृत व्यक्तिको प्रवेश रोक्नुका साथै कागजात तथा अभिलेखको सुरक्षा सुनिश्चित गर्न सबै कार्यालयलाई निर्देशन दिइएको छ,’ उनले भने ।
विभागले मन्त्रालय तथा आफ्नै अनुगमनका क्रममा पनि केही कार्यालयमा बाह्य व्यक्तिहरूले अभिलेखमा पहुँच जमाएको पाइएको जनाउँदै यस्तो कार्य तत्काल रोक्न आदेश दिएको छ।
















