काठमाडौँ– नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। देउवा-कोइराला पक्षले नेता गगन थापालाई सभापतिको रूपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ।
पूर्व उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठकले विशेष महाधिवेशनमार्फत आएको नेतृत्वलाई चुनौती दिएको हो। बैठकमा शीर्ष नेतासहित करिब ८३ केन्द्रीय सदस्यको उपस्थिति रहेको जनाइएको छ।
बैठकमा धारणा राख्ने १५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको नाममा थापाले आफूलाई सभापति घोषणा गरेको कदमलाई ‘नाटक मञ्चन’ को संज्ञा दिएका छन्।
कांग्रेस नेता मानबहादुर नेपालीका अनुसार अदालतको निर्णय नआउन्जेलसम्मका लागि विवाद स्थगन गरिए पनि अर्को पक्ष संवेदनशील नदेखिएको आरोप लगाइएको छ।
‘जतिबेला घोषणापत्र लेख्ने र उम्मेदवार चयन गर्ने समय थियो, त्यतिबेला विशेष महाधिवेशनका नाममा नाटक गरेर उहाँले आफूलाई सभापति घोषणा गर्नुभयो,’ नेता नेपालीले भने, ‘निर्वाचनसम्मका लागि शालीनता देखाएर हामी चुप बसेका थियौँ, तर अब उहाँलाई सभापतिका रूपमा स्वीकार्न सकिँदैन।’
देउवा-कोइराला समूहले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको १२३ सदस्यीय केन्द्रीय समितिलाई नै आधिकारिक मानेको छ। अदालतको फैसला नआउन्जेल थापालाई सभापति नमान्ने र १४औँ महाधिवेशनबाट निर्वाचित समितिलाई नै सक्रिय बनाउने रणनीति उनीहरूले लिएका छन्।
















