४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026

राप्रपा झापाद्वारा पीडित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग



झापा-राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको बैठक चैत्र १४ गते पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थितिमा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

जिल्ला प्रवक्ता सूर्यकुमार खतिवडाका अनुसार बैठकले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई अनपेक्षित रूपमा लिँदै जनादेशलाई सम्मान गर्ने र आगामी दिनमा पार्टीका विचार तथा मुद्दालाई जनतामाझ थप प्रभावकारी रूपमा स्थापित गर्दै निरन्तर क्रियाशील रहने निर्णय गरेको छ ।

बैठकले निर्वाचनमा उम्मेदवार बनेर पार्टीको विचार जनतासम्म पुर्‍याउने उम्मेदवारहरू, चुनाव परिचालन समितिका संयोजक, सदस्य तथा पदाधिकारीहरू र राप्रपाका पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद ज्ञापन गरेको छ ।

केन्द्रीय कार्यसमितिले झापाबाट प्राप्त समानुपातिक मतको उच्च मूल्याङ्कन गर्दै खुश्वु ओलीलाई समानुपातिक सांसदको रूपमा चयन गरेकोमा केन्द्रीय कार्यसम्पादन समितिलाई धन्यवाद दिँदै बैठकले नवनिर्वाचित सांसद ओलीलाई बधाई ज्ञापन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैठकले हालै जिल्लाका विभिन्न पालिकामा आएको हावाहुरीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार तथा सम्बन्धित स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।

यस्तै, अनपेक्षित मत परिणामबाट विचलित नहुन पार्टी अध्यक्ष लिङ्देनले कार्यकर्तालाई निर्देशन दिँदै संगठन सुदृढीकरण र जनजीविकासँग जोडिएका मुद्दामा उच्च मनोबलका साथ अघि बढ्न आह्वान गर्नुभएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

बैठकले पार्टीको विधानअनुसार जिल्ला अध्यक्ष केशव ओझाबाट पदाधिकारीहरूको मनोनयन तथा जिम्मेवारी बाँडफाँड गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार ००:००  ६ : १६ बजे