३ भाद्र २०८३, बुधबार | Thu Aug 20 2026

प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई एमालेको विरोधपत्र



बिर्तामोड-नेकपा एमाले झापाले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सरकारले चालेको कदम तत्काल फिर्ता लिन माग गरेको छ ।

एमाले झापाले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय झापा पुगेर सरकारलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको हो ।

एमाले झापा जिल्ला कमिटीका अध्यक्ष प्रेम गिरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा ओलीविरुद्धको कदमलाई राजनीतिक प्रतिशोध, लोकतान्त्रिक अभ्यासमाथिको प्रहार र राज्य संयन्त्रको दुरुपयोगको संज्ञा दिइएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेतामाथि गरिएको यस्तो व्यवहारले जनतामा गम्भीर असन्तोष, अन्योल र आक्रोश पैदा गरेको छ ।

‘एमाले झापाले सरकारको पछिल्लो निर्णयले संविधान, कानुनी शासन र नागरिक स्वतन्त्रताको आधारभूत मान्यतामाथि प्रश्न उठाएको उल्लेख गरेको छ ।

पार्टीले राजनीतिक असहमतिलाई अपराधीकरण गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यसँग मेल नखाने जिकिर गरेको छ ।ज्ञापनपत्रमा सरकारमाथि विपक्षी आवाज दबाउने मनसायले राज्य संयन्त्र प्रयोग गरिएको आरोप लगाइएको छ ।

ओलीमाथि गरिएको व्यवहारलाई एमाले झापाले राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भनेको छ । जिल्ला अध्यक्ष गिरीले ज्ञापनपत्रमार्फत भनेका छन्, ‘यो केवल एक नेतामाथिको व्यवहार मात्र होइन, लोकतन्त्र, संविधान र जनअधिकारमाथिको गम्भीर प्रहार हो ।’

उनले सरकारले अपनाएको शैलीले जनप्रतिनिधिमूलक राजनीतिक संस्कार कमजोर बनाउने र संस्थागत सन्तुलनमाथि नै असर पार्ने बताएका छन् ।

निर्णय फिर्ता लिन आग्रह

एमाले झापाले ओलीविरुद्धको निर्णय तत्काल फिर्ता लिन, राजनीतिक प्रतिशोधको शृंखला अन्त्य गर्न र संवैधानिक मर्यादा कायम राख्न सरकारसँग माग गरेको छ ।

ज्ञापनपत्रमा थप भनिएको छ, ‘राज्यका निकायहरूलाई निष्पक्ष, उत्तरदायी र संवैधानिक सीमाभित्र सञ्चालन गरिनुपर्छ ।’ पार्टीले सरकारलाई तनाव र ध्रुवीकरण बढाउने कुनै पनि कदमबाट पछि हट्न आग्रह गरेको छ ।

ज्ञापनपत्रमार्फत एमाले झापाले लोकतान्त्रिक प्रक्रियामाथि अविश्वास पैदा गर्ने कार्य दीर्घकालीन रूपमा घातक हुने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार ००:००  ३ : ४६ बजे