२० असार २०८३, शनिबार | Sat Jul 4 2026

अध्यक्ष ओलीको गिरफ्तारीप्रति एमाले जनसंगठनको कडा आपत्ति



झापा-नेकपा एमालेनिकट जनसंगठनले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका छन् ।

जनसंगठन समन्वय संयन्त्रकी संयोजक अनिता कन्दङ्वा, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र आचार्य लगायत २३ जनसंगठनले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीलाई पक्राउ गरिएकोप्रति कडा आपत्ति जनाएका हुन् ।

संयोजक कन्दङ्वाले नयाँ सरकार गठन भएको २४ घण्टा नबित्दै अध्यक्ष ओलीलाई पक्राउ गर्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उठेकाे बताइन् ।

‘यो कदमले सरकार पहिलो दिनदेखि नै मुठभेडतर्फ उन्मुख भएको स्पष्ट संकेत गर्छ’, उनले भनिन् ।प्रेस चौतारीका अध्यक्ष परियारले उक्त गिरफ्तारीलाई स्पष्ट रूपमा ‘पूर्वाग्रहप्रेरित र प्रतिशोधपूर्ण’ कदमको संज्ञा दिएका छन् ।

भदौ २३ र २४ गतेकाे घटनासम्बन्धी छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन नै विवादास्पद रहेको अवस्थामा त्यसकै आधारमा गरिएको कारबाहीले कानुनी शासनमाथि प्रश्न उठाएको परियारले बताए ।

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष आचार्यले आयोगको प्रतिवेदन ‘तथ्यभन्दा बाहिर गई मनोगत ढंगले तयार गरिएको’ आरोप लगाए ।

उनले यस्तो प्रतिवेदन कार्यान्वयन गर्ने नाममा पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु ‘प्रथम दृष्टिमै गैरकानुनी’ भएको जिकिर गरे ।

विज्ञप्तिमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत नियन्त्रणमा लिइनु राजनीतिक पूर्वाग्रहकै निरन्तरता भएको उल्लेख गरिएको छ ।

बालेन्द्र शाह नेतृत्वको सरकारले प्रारम्भिक चरणमै द्वन्द्व निम्त्याउने खालका गतिविधि थालेको आरोप जनसंगठनको छ ।

एमाले जनसंगठनले वर्तमान घटनाक्रमलाई दीर्घकालीन राजनीतिक षड्यन्त्रको श्रृंखलाका रूपमा व्याख्या गर्दै यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका छन् ।

उनीहरूले पक्राउ परेका सबै नेताहरूको तत्काल रिहाइको माग गर्दै पार्टीका कार्यक्रम र निर्देशन कार्यान्वयनमा दृढ रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार ००:००  १० : ५० बजे