५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026

मोटरसाइकल र सिटी ठोक्किँदा एक जनाको मृत्यु




झापा-झापाको कचनकवल गाउँपालिकामा मोटरसाइकल र सिटी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

सोमवार साँझ करिब ६:३० बजे कचनकवल गाउँपालिका-४ केचना क्षेत्रमा बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको BR-11-C-3071 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र-१-०१-००२ ह ६४११ नम्बरको सिटी ठोक्किँदा दुर्घटना भएको हो ।


दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका अन्दाजी ५० वर्षीय शुकदेव गणेश गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि ओम साई पाथीभरा अस्पताल पठाइएकोमा साँझ ७:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको टोलीले सिटी चालक १९ वर्षीय सैजन मियालाई नियन्त्रणमा लिएको छ भने दुवै सवारी साधन पनि नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार ००:००  ८ : २७ बजे