झापा-भारतको दार्जिलिङमा जन्मिएका प्रख्यात साहित्यकार तथा शिक्षासेवी दान खालिङलाई मरणोपरान्त पूर्ण-टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरिएको छ ।
नेपाली भाषा, साहित्य र शिक्षाको क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख ११ हजार रुपैयाँ राशिसहितको सम्मान प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षासेवी राजेश खड्काले खालिङका परिवारका सदस्यलाई नगद रकम र सम्मानपत्र हस्तान्तरण गर्नुभयो । समाजसेवी खड्काले आफूलाई पढाएको देखि आफ्नो विद्यालयमा खालिङलाई अध्यापनका लागि ल्याउन गरेको मेहनतको प्रसङ्ग सुनाउनु भयो ।
प्रतिष्ठानका सभापति गोपालकुमार बस्नेतका अनुसार खालिङले आफ्नो जीवनको अधिकांश समय नेपालमा बिताउँदै साहित्य, शिक्षा र सामाजिक चेतनाको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँ नेपाली साहित्यमा अनुवादकका रूपमा पनि परिचित हुनुहुन्थ्यो । नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव चन्द्र भण्डारीले खालिङलाई नेपाल सरकारले वेवास्ता गरे पनि प्रतिष्ठानको तर्फबाट सम्मान गर्दै उहाँको योगदानको कदरस्वरूप प्रायश्चित गरिएको बताउनुभयो ।
युवावस्थामा उहाँ नेता बीपी कोइरालासँग दार्जिलिङमा भेट भएपछि राजनीतिक तथा सामाजिक आन्दोलनबाट प्रभावित हुनुभएको थियो । त्यसपछि उहाँ २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनु भएको थियो ।
कार्यक्रममा नेपाल र भारतका विभिन्न संस्था र सर्जकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा भारतीय साहित्यकार ज्ञानेन्द्र खतिवडा, प्रतिष्ठानका सचिव लक्ष्मण ढकाल लगायतले बोल्नु भएको थियो ।
प्रतिष्ठानसँगै खालिङले अध्यापन गराएका विभिन्न शिक्षण संस्थाले समेत नगदसहित परिवारजनका सदस्यलाई सम्मानपत्र प्रदान गरेका छन् । लिटल फ्लावर अङ्ग्रेजी बोर्डिङ स्कुल, टावर टेम्पल स्कुल, धुलाबारी क्याम्पस लगायतका शैक्षिक संस्थाले सम्मानपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस झापाले समेत छुट्टै सम्मानपत्र प्रदान गरेको छ । कांग्रेस झापाका सभापति देउकुमार थेबे र नेता राम कट्टेलले संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्नुभयो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सचिव स्वस्तिका आचार्यले गरेकी थिइन् ।
















