काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। उनले समग्रमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन्।
बालेनको निर्वाचन प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षरमा बुझाइएको विवरण अनुसार निर्वाचनका क्रममा विभिन्न शीर्षकमा खर्च भएको देखाइएको छ। सबैभन्दा बढी खर्च वडास्तरीय प्रचार कार्यक्रममा भएको उल्लेख छ।

विवरण अनुसार १५ दिनको अवधिमा दुई वटा सवारी साधन भाडामा प्रयोग गरिएको र त्यसमा इन्धनसहित २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको छ। त्यस्तै, निर्वाचन कार्यालय सञ्चालनका क्रममा दुई महिनाको पानी खर्च मात्रै १ लाख २० हजार रुपैयाँ देखाइएको छ।
अन्य खर्चहरूमा स्टेसनरीमा २२ हजार ८२० रुपैयाँ र मनोनयन दर्ता शुल्क १० हजार रुपैयाँ समावेश छ। बालेनले आफ्नो निर्वाचन अभियानलाई पारदर्शी बनाउने प्रयास स्वरूप समयमै खर्च विवरण बुझाएको उनको सचिवालयले जनाएको छ।


















