७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

झापा इनर्जीले दुई वर्षमा घटायो बाह्य ऋणको १६ करोड दायित्व



सुब्रत न्यौपाने

झापा इनर्जी लिमिटेडले दुई वर्षमा बाह्य ऋणको दायित्व १६ करोड रुपैयाँले घटाएको छ । १० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित बिजुली बेचेर झापा इनर्जीले बाह्य ऋणको दायित्व क्रमश घटाउँदै लगेको हो ।

ग्रीडमा आबद्ध सौर्य ऊर्जामा आधारित विद्युत् परियोजना सञ्चालन गर्न झापा इनर्जीले माछापुछ्रे र हिमालयन बैंकबाट करिब ६० करोड रुपैयाँ ऋण लिएको थियो ।

‘आयोजनाबाट उत्पादित बिजुली बेचेर दुई वर्षमा १६ करोड रुपैयाँ ऋण तिरिसकेका छौँ’, झापा इनर्जी लिमिटेडका अध्यक्ष एलपी साँवा लिम्बूले भने, ‘अब ४४ करोड रुपैयाँ मात्रै ऋण बाँकी छ ।’

झापाको शिवसताक्षी-४ सालमारामा करिब २३ बिघा जग्गामा सौर्य विद्युत् आयोजना सञ्चालनमा छ । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले प्रति युनिट सात रुपैयाँ ३० पैसाका दरले किन्छ ।

आयोजनाबाट उत्पादित बिजुली बुलुचोक सबस्टेसनमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सबस्टेसनसम्म जोड्ने ९६६ मिटर लामो प्रसारण लाइन झापा इनर्जी आफैँले निर्माण गरेको हो ।

आयोजनाका प्रबन्ध सञ्चालक सुवास भट्टराईले उत्पादनको पहिलो वर्ष प्राधिकरणलाई ९ करोड १० लाख रुपैयाँको बिजुली बेचिएको बताए । आयोजनाले २०८० माघदेखि व्यवसायिक उत्पादन सुरु गरेको थियो ।

‘चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म ४ करोड ७० लाख रुपैयाँको बिजुली बेचिसकेका छौँ’, प्रबन्ध सञ्चालक भट्टराईले भने ।

२०८१ असोजमा आएको बाढीले क्षति गरेपछि पाँच महिनासम्म आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेन । गत जेठमा पनि एउटा इन्भर्टरमा आगलागी हुँदा विद्युत् उत्पादन प्रभावित भएको थियो ।

झापा इनर्जीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारमा रहेका नेपाली, सर्वसाधारण र कर्मचारीका लागि सेयर निष्कासन गरिसकेको छ ।

करिब ८९ करोड रूपैयाँको लगानीमा आयोजना सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार ००:००  ३ : १२ बजे