७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

१६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



बिर्तामोड– बिर्तामोडमा स्थानीय तह स्तरीय अन्तरविद्यालय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

बिर्तामोड नगरपालिकाको आयोजनामा वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कूलको खेलमैदानमा आजदेखि प्रतियोगिता सुरु भएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईँले औपचारिक कार्यक्रमका बीच पानसमा दीप प्रज्वलन गरी रनिङ शिल्ड अनावरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा ३८ वटा विद्यालयका दुई हजार भन्दाबढी विद्यार्थी सहभागी रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिनुभयो ।

भोलिसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, उसु, तेक्वान्दो, कराते लगायत विभिन्न खेल विधा समावेश गरिएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले विद्यार्थीहरूको खेलकुद क्षेत्रमा हुने समग्र विकासका लागि यस्ता प्रतियोगिता प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

फरक-फरक विद्यालयका विद्यार्थीसँग हुने प्रतिस्पर्धाले तयारी र क्षमता विकासमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेलले आगामी दिनमा शतप्रतिशत विद्यालयहरूको सहभागिता सुनिश्चित गरिने बताउनु भयो ।

उहाँले यस वर्षदेखि बिर्तामोड नगरपालिकाले रनिङ शिल्डको व्यवस्था गरेकोमा खुसी व्यक्त गर्नु भयो ।

कार्यक्रममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडाध्यक्ष मदन बुढाथोकी, कार्यपालिका सदस्य तिला गौतम, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

रनिङ शिल्ड लगातार तीन वर्ष जितेपछि मात्र स्थायी रूपमा प्रदान गरिने व्यवस्था छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार ००:००  ७ : ०३ बजे