बिर्तामोड-वडा खेलकुद विकास समितिको आयोजनामा बिर्तामोड नगरपालिका-१ मा आजदेखि दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
ग्रीनफिल्ड स्कुलको खेल मैदानमा सुरु भएको प्रतियोगितामा वडाभित्रका टोलबाट १५ वर्ष मुनिका खेलाडीहरूको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष अग्निप्रसाद पाण्डे र विशिष्ट अतिथि ज्येष्ठ नागरिक पदमप्रसाद प्रसाईंले रेफ्री प्रविन राईलाई फुटबल प्रदान गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले जेनजी आन्दोलनका कारण प्रतियोगिता ढिलो सुरु हुन गएको उल्लेख गर्नुभयो । साथै उहाँले वडा खेलकुद मार्फत व्याडमिन्टन, क्रिकेट लगायतका विभिन्न प्रतियोगिता पनि हुने बताउनु भयो ।
यस प्रतियोगितामा ११ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्ने वडा खेलकुद विकास समितिका सचिव मदनकुमार शिवाकोटीले बताउनु भयो ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही १-१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ५ सय र उदीयमान खेलाडीलाई १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा पञ्चकन्या प्रगति टोलले नमुना टोललाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
पञ्चकन्या प्रगति टोलको जितमा अभियान ढुंगेल र आरोग्य बस्नेतले समान १-१ गोल गरेका छन् । खेलको म्यान अफ द म्याच अभियान ढुंगेल घोषित भए । उनलाई प्रहरी निरीक्षक ढुण्डीराज गिरीले नगद ५ सय रुपैयाँ पुरस्कार प्रदान गरे ।
अध्यक्ष कप फुटबल प्रतियोगिता भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।














