१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

सिमराका सबै उडान रद्द : एमाले नेता चढेको जहाज काठमाडौँ फिर्ता



बारा-बाराको सिमरामा एमाले निकट युवासंघ र ‘जेनजी’ समूहबीचको झडपले उग्र रूप लिएपछि त्यहाँको हवाई सेवा पूर्ण रूपमा प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेसँगै आजका लागि तय भएका सिमरा तर्फका सबै उडानहरू रद्द गरिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बारामा उत्पन्न सुरक्षा संवेदनशीलता र जारी निषेधाज्ञाका कारण आजका लागि निर्धारित उडानहरू रद्द गर्नु परेको पुष्टि गरेका छन् ।

सिमरामा दैनिक ५ वटा उडान भर्दै आएको बुद्ध एयरको आज बिहानको पहिलो उडान मात्र हुन सक्यो । एमालेका शीर्ष नेतालाई लिएर गएको दोस्रो उडान भने सिमरा विमानस्थलको धावनमार्गमा अवतरण नै नगरी बीच बाटोबाटै काठमाडौं फिर्ता भएको छ ।

एमालेको ‘युवा जनजागरण अभियान’ लाई सम्बोधन गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत लगायत सोही जहाजमार्फत सिमरा जाँदै थिए ।

तर, विमानस्थल क्षेत्रमा एमाले कार्यकर्ता र विरोधमा उत्रिएका युवाहरूबीच झडप भएपछि सुरक्षा जोखिमका कारण जहाज फिर्ता गरिएको हो ।

तनाव बढेपछि स्थानीय प्रशासनले सिमरा विमानस्थल वरपर र राजमार्ग क्षेत्रमा दिउँसो १२:३० देखि राति ८ बजेसम्मका लागि कर्फ्यु लगाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बुधबार ००:००  २ : १२ बजे