बिर्तामोड– झापाको शिवसताक्षी नगरपालिका-१० माइधार चौक नजिक पूर्व-पश्चिम राजमार्गमा ठज बिहान करिब ४ बजे रात्रिबस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
रामेछापको मन्थलीबाट काँकडभिट्टा आउँदै गरेको प्रदेश-१-०१-००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल बायाँपट्टि पल्टिएर दुर्घटना भएको हो ।
बसमा २५ जना यात्रु सवार रहेकामा १९ जना घाइते भएर उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बाँकी ६ जना भने सामान्य अवस्थामा रहेर आफ्नो गन्तव्यतर्फ गएका छन् ।
सडक अबरोध भने भएको छैन र बस दुर्घटना स्थलमै रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक झापा मेचीनगर-६ का ३९ वर्षीय राजु भुजेलसहित झापा, रामेछाप, दोलखा र अन्य क्षेत्रका यात्रुहरू घाइते भएका छन् ।
अधिकांशलाई टाउको, ढाड र छातीमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था मध्यमदेखि सामान्य रहेको प्रारम्भिक जानकारी आएको छ ।
घटनास्थलमा माईधार प्रहरीले तत्काल उद्धारका लागि टोली खटाएको थियो । दुर्घटनाको थप कारण अनुसन्धान भइरहेको जनाएको छ ।














