काठमाडौँ– निर्वाचन आयोगले फागुन २१ का लागि पूर्व निर्धारित निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचनसँग सम्बन्धित कामलाई व्यवस्थित गर्ने गरी आयोगले कार्यतालिका स्वीकृत गरेको हो ।
स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले बताए ।
कार्यतालिका अनुसार आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछ ।
फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र त्यसपछि प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणाली तर्फको मतपेटीका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम छ ।
आयोगका प्रवक्तासमेत रहेका भट्टराईले समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जनाउँदै पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम राखिएको बताए ।














