१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

दशैँको मुखमा कार्यालय फर्काइए प्रहरी : के सोच्दै होलान् आगो लगाउनेहरू ?



बिर्तामोड-जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएका प्रहरी कार्यालयहरूको पुनर्निर्माणसँगै झापामा प्रहरीलाई समुदाय तहबाट स्वागतसहित पुनस्थापना गरिएको छ ।

आन्दोलनका क्रममा हतियार समेत लुटिएपछि विस्थापित भएका प्रहरीलाई धमाधम कार्यालय फर्काउन थालिएको हो । बुधबार झापाको प्रमुख व्यापारिक सहर बिर्तामोडमा जिल्लाका ठूला दुईवटा प्रहरी कार्यालयहरू पुनस्थापित भएका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन पुनर्निर्माणपछि त्यहाँ कार्यरत प्रहरीहरूलाई पूर्ववत अवस्थामा फर्काइएको हो ।

आन्दोलनका क्रममा ती दुईवटा कार्यालयमा आगो लगाएर सिलिन्डर विस्फोट गराइएको थियो । विस्फोटबाट क्षतिग्रस्त भएका दुवै कार्यालय पुनर्निर्माण गरी समुदाय समेतको सहभागितामा सद्भाव र्‍याली आयोजना गरी प्रहरीलाई कार्यालय फर्काइएको छ ।

सद्भाव र्‍यालीपछि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई र अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले प्रहरी अधिकारीहरू सहितको टोलीलाई स्वागत गर्नु भयो ।

इलाका प्रहरी कार्यालयका डीएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल नेतृत्वको अलग-अलग प्रहरी टोलीलाई नगर प्रमुख प्रसाईं र गाेम्देनले स्वागत गर्नु भएको छ ।

क्षतिग्रस्त ती दुईवटा प्रहरी कार्यालयको पुनर्निर्माणका लागि झन्डै डेढ करोड रुपैयाँ खर्च हुने अनुमानसहित समुदायले अग्रसरता देखाएको थियो ।

स्थानीय युवाहरूको अग्रसरतामा सञ्चालन गरिएको प्रहरी कार्यालय पुनर्निर्माण अभियानमा सामाजिक संघसंस्था र व्यावसायिक क्षेत्रले नगद तथा जिन्सी संकलन गरेका थिए ।

प्रहरी कार्यालय पुनर्निर्माण अभियानको नेतृत्व गरेका युवा व्यवसायी पदम श्रेष्ठका अनुसार अहिलेसम्म ७५ लाख रुपैयाँ खर्च भइसकेको छ । कार्यालय सञ्चालनका लागि आवश्यक सामग्रीको व्यवस्थापनसहित पुनर्निर्माण अभियान सुरु भएको थियो ।

अभियान सञ्चालनको करिब दुई सातामा प्रहरीलाई पुरानै अवस्थामा फर्काइएको व्यवसायी श्रेष्ठले बताउनुभयो । पुनर्निर्माणको बाँकी कामलाई दशैंपछि निरन्तरता दिइने जनाइएको छ ।

कार्यालय प्रयोजनका लागि आवश्यक फर्निचरका सामग्री, कम्प्युटर लगायतका विद्युतीय सामग्रीको व्यवस्थापन पनि भइरहेको छ ।

जनस्तरबाट संकलित रकमले प्रहरी कार्यालय पुनर्निर्माणमा महत्वपूर्ण सहयोग गरेको युवा व्यवसायी सजेश शिवाकोटीले बताउनुभयो ।

उहाँका अनुसार पुनर्निर्माण अभियान अन्तर्गत बिर्तामोडमा मात्र होइन, समुदायको लगानीमा प्रहरी चौकी सुरुङ्गा, बिर्ता बजार, गरामनी लगायतका प्रहरी कार्यालयहरू पनि पुनर्निर्माण गरिएका छन् ।

युवा व्यवसायी श्रेष्ठ र शिवाकोटीसहित बिर्तामोडका युवा व्यवसायीहरू बिपिन बजगाईं, दीपेन चौधरी, मिजास पोखरेल लगायतले प्रहरी कार्यालय पुनर्निर्माणमा अग्रसरता देखाएका थिए ।

उनीहरूको अगुवाई, समन्वय र सहजीकरणमा बिर्तामोडका अरु संघसंस्था र व्यक्तिले होस्टेमा हैँसे गर्दै प्रहरी कार्यालय पुनर्निर्माणमा हातेमालो गरेका हुन् ।

पुनर्निर्माण अभियानमा एकका लागि एक अभियान र बिर्तामोड उद्योग वाणिज्य सङ्घ लगायतका संस्थाले संस्थागत रूपमा महत्त्वपूर्ण सहयोग गरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार ००:००  ९ : ०९ बजे