११ माघ २०८२, शनिबार | Sun Jan 25 2026

जेनजी प्रदर्शन : बिर्तासिटीमा सात जनाको निःशुल्क उपचार



झापा-झापा जेनजी प्रदर्शनका क्रममा घाइते भएर बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत सबै घाइते उपचारपछि घर फर्किएका छन् । भदौ २३ र २४ गते भएको प्रर्दशनका क्रममा घाइते भएका मध्ये सातजना उपचारका लागि अस्पतालमा भर्ना भएका थिए ।

त्यसमध्ये अर्जुनधारा ११ का ३० वर्षीय गोपाल सेढाईको मृत्यु भएको थियो । उनको छातीमा गोली लागेको थियो । २४ गते अस्पताल भर्ना भएका सेढाइको उपचारकै क्रममा मृत्यु भएको थियो । अस्पताल प्रशासनका अनुसार घाइते सबैको निःशुल्क उपचार भएको हो ।

उपचारमा आएकामध्ये बिर्तामोड ४ का १५ वर्षीय सुमित साह, कनकाई ३ का ३२ वर्षीय चिरञ्जीवी खनाल, बिर्तामोड ९ का १६ वर्षीय सन्देश गिरी, बिर्तामोड ४ का ५० वर्षीय राम भजन साह, हल्दिवारी २ का २३ वर्षीय अनिष श्रेष्ठ, माई नगरपालिका २ का २८ वर्षीय रुपेश ढुङ्गाना उपचारपछि घर फर्किएका हुन् ।

अस्पताल प्रशासक विनोदकुमार वस्नेतका अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरु आउन शुरु गरेसँगै अस्पतालले विरामीको संख्या बढ्न सक्ने भन्दै १५ शैया तयारी अवस्थामा राखेको थियो भने डाक्टरलाई समेत विदा वस्न नदिई तयारी अवस्थामा राखेको थियो । घाइते सबैको उच्च प्राथमिकताका साथ उपचार गरिएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार ००:००  ३ : ०० बजे