मेचीनगर-भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति भएका मेचीनगर नगरपालिका कार्यालय र वडा कार्यालयका भवन नगरपालिका आफैले पुनर्निर्माण गर्ने भएको छ ।
नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले असोज ३ गते संविधान दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा क्षति भएका नगरपालिका कार्यालय र वडा कार्यालयहरूको भौतिक संरचना नगरपालिका आफैले पुनर्निर्माण गर्ने जानकारी दिएका छन् ।
शुक्रबार नगर प्रमुख बुढाथोकीद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा क्षति भएका भौतिक संरचना आफैले बनाउने उल्लेख छ । नगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरूको पुनर्निर्माण तथा रङरोगन गर्ने भन्दै विभिन्न समूह र व्यक्तिहरूले रकम सङ्कलन गर्ने कार्य गैरकानुनी भएको र त्यस्तो कार्य तत्काल बन्द गर्न सूचनामा भनिएको छ ।
आइतबारदेखि अत्यावश्यक सेवा सुरु
आइतबारदेखि अत्यावश्यक सेवा दिन तयारीका साथ नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतका जनप्रतिनिधि र कर्मचारीको टोलीले वडा कार्यालयहरूको निरीक्षण गरिरहेको छ।
शहीदहरूप्रति श्रद्धाञ्जली
बिहीबार नगरसभा हलमा बसेको कार्यपालिका बैठकले जेनजी आन्दोलनमा जीवन गुमाएका शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।



















