काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा यतिबेला खैलाबैला मच्चिएको छ । पार्टीकी नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छन् । उनको यो कदमले रास्वपाभित्रको आन्तरिक कलह सतहमा आएको स्पष्ट देखिएको छ ।
पार्टी छोडेको जानकारी दिँदै श्रेष्ठले नेतृत्वप्रति आक्रोश व्यक्त गरेकी छन् । उनले भनिन्, ‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाडेँ ।’
श्रेष्ठले पार्टी केन्द्रीय समितिलाई आफ्नो निर्णयबारे जानकारी गराउँदै नेतृत्वले गल्तीमाथि गल्ती गरिरहेको तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको आरोप लगाएकी छन् । उनले आफूलाई यो अस्वीकार्य भएकोले पार्टीबाट अलग भएको स्पष्ट पारेकी छन् ।
‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने? पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने?’ श्रेष्ठले प्रश्न गरेकी छन् ।
श्रेष्ठका अनुसार पार्टीभित्र आलोचना गर्नेहरूविरुद्ध मिडिया ट्रायल गरेर दुख दिने र नेतालाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति हाबी भएको छ । उनले भनिन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ ।’
श्रेष्ठको रास्वपा परित्यागले पार्टीको आन्तरिक व्यवस्थापन र नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ ।