१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

प्रधानमन्त्री ओलीसँग झापा ५ मा चुनाव लड्ने राप्रपा अध्यक्ष लिङ्देनको घोषणा



बिर्तामोड-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस एमाले सत्ता यात्राले मुलुक झन् बर्बादीको बाटोमा गएको टिप्पणी गर्नु भएको छ ।

गृह जिल्ला झापामा पार्टीको जिल्ला अधिवेशनलाई शनिबार बिर्तामोडमा सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले तीन ठूला दलको गैर जिम्मेवार प्रवृत्तिका कारण मुलुक संकटमा परेको बताउनु भयो ।

‘दुई ठूला दल मिलेर सरकार बनाए । अब देश सुध्रिन्छ कि भनेर आशा गरियो’, अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘ जिम्मेवारी बोध गरे कि भन्ने लागेको थियो । तर, टेन्डर पारे जस्तो ढंगले उनीहरुले सरकार चलाइरहेका छन् ।’

अध्यक्ष लिङ्देनले देशलाई बर्बादीको बाटोमा जानबाट रोक्न दुई ठूला दलको सत्ता बहिर्गमन अनिवार्य सर्त जस्तै भएको बताउनुभयो ।

राजनीतिका नाममा लुटतन्त्र भइरहेको आरोप लगाउँदै अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउने उद्घोषका साथ आफूहरू लागेको उल्लेख गर्नुभयो ।

राप्रपा भ्रष्टाचार विरुद्धको एउटा अभियान भएको स्पष्ट पार्दै अध्यक्ष लिङ्देनले समयको माग र जनताको आवश्यकता भए आगामी निर्वाचन झापा ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताउनुभयो ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार ००:००  ८ : ४८ बजे