झापा-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागार असुरक्षित र असुविधाजनक रहेको भन्दै तत्काल काठमाडौँ सार्न सरकारसँग जोडदार माग गरेका छन् ।
मंगलबार भैरहवा कारागारमा लामिछानेसँग दोस्रो पटक भेट गरेपछि अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् ।
उनले देशको एक प्रमुख पार्टी सभापतिलाई सरकारले न्यूनतम मानवीय सुविधाबाट समेत वञ्चित गरेकोमा दुःख व्यक्त गरेका छन् ।
भेटका क्रममा लामिछानेसँग समसामयिक राष्ट्रिय राजनीति, संसदीय गतिविधि, रुपन्देहीमा हुने उपनिर्वाचन तथा स्वास्थ्य अवस्थाबारे कुराकानी भएको लिङ्देनले जानकारी दिए ।
आफ्नो फेसबुक पोस्टमा लिङ्देनले लेखेका छन्, ‘देशको एउटा महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको छ ।’
उनले भैरहवा कारागारको अवस्थाप्रति गम्भीर प्रश्न उठाउँदै यसलाई सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त ठहर गरेका छन् ।
फरक राजनीतिक धारका दुई पार्टीका अध्यक्ष बीचको यो भेटघाट र एकअर्काप्रतिको सहानुभूतिले राष्ट्रिय राजनीतिमा तरंग सिर्जना गरेको छ ।
लामिछानेको थुना र उनको अवस्थाबारे लिङ्देनले सार्वजनिक रूपमै आवाज उठाएपछि यो विषयले थप चर्चा पाएको छ ।



















