बिर्तामोड– संघीय सरकारको सहरी विकास मन्त्रालयबाट विनियोजित १५ करोड रुपैयाँ बराबरका पाँचवटा महत्वपूर्ण योजना कार्यान्वयनको चरणमा जाने भएका छन् ।
बिर्तामोड नगरपालिका क्षेत्रभित्र शिक्षा, सडक पूर्वाधार र नदी नियन्त्रण जस्ता अत्यावश्यक क्षेत्रमा केन्द्रित यी योजना कार्यान्वयन गर्ने तयारी भइरहेको हो ।
नगरको यातायात सञ्जाललाई सुदृढ गर्न तीन महत्वपूर्ण सडकहरू निर्माण हुनेछन् । जस अन्तर्गत बिर्तामोड-५ स्थित शनिश्चरे रोडको डिजाइन फर्निचरदेखि बसपार्क जोड्ने खण्ड, सैनिकमोड-कुमालबाडी हुँदै रामचोक पुग्ने सडक र बिर्तामोड-८ को देउनिया-सेन्ट जेभियर्स हुँदै जाने सडक रहेका छन् ।
यी तीनवटै सडक निर्माणका लागि ३-३ करोड रुपैयाँ विनियोजन भएको छ । नगरभित्रको आवागमनलाई सहज र व्यवस्थित बनाउने गरी सडक निर्माण योजना अघि बढ्ने नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले बताउनुभयो ।
शैक्षिक पूर्वाधारतर्फ बिर्तामोड-२ मा रहेको मोहनमाया माविकाे भवन निर्माणका लागि तीन करोड रुपैयाँ खर्च गरिनेछ । विपद् जोखिम न्यूनीकरणका लागि बिर्तामोड-७ मा हर्चना खोला तटबन्धनको काम अघि बढाइनेछ ।
जसका लागि पनि ३ करोड रुपैयाँ छुट्याइएको छ ।कार्यान्वयनको चरणमा प्रवेश गर्न लागेका ती क्षेत्रको नगर प्रमुख पवित्रा महतारा प्रसाई, सम्बन्धित वडाका वडा अध्यक्षहरू, सहरी विकास कार्यालयका इन्जिनियर सुरेश चौधरी तथा स्थानीय सरोकारवालाको संयुक्त टोलीले यी स्थलगत निरीक्षण गरेको छ ।
निरीक्षणपछि बसेको बैठकले सबै योजनाको प्राविधिक तयारी तत्काल पूरा गरी आउँदो भदौ महिनाको पहिलो हप्ताभित्रै ठेक्का आह्वान गर्ने गरी काम अगाडि बढाउने निर्णय गरेको छ ।
निरीक्षणका क्रममा नगर प्रमुख प्रसाईले संघीय सरकारबाट प्राप्त महत्वपूर्ण बजेटको सदुपयोग गर्दै गुणस्तरमा कुनै सम्झौता नगरी तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।



















