काठमाडौं– अखिल नेपाल फुटबल संघ एन्फाले विश्व फुटबल महासंघ फिफाको ऐतिहासिक सहयोगमा देशको फुटबलको भविष्य कोर्ने महत्वाकांक्षी ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम बिहीबारदेखि औपचारिक रूपमा सुरु गर्ने भएको छ ।
यो कार्यक्रम खेलकुद गतिविधि नभएर विद्यालय तहबाटै फुटबलको जग बलियो बनाउने एक राष्ट्रिय अभियान भएको एन्फाले जनाएको छ । एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार यो कार्यक्रमले नेपाली फुटबलमा दूरगामी र सकारात्मक प्रभाव पार्नेछ।
“यो केवल बालबालिकालाई बल बाँड्ने कार्यक्रम होइन, यो नेपाली फुटबलको जग बदल्ने अभियान हो,” प्रवक्ता शाहले भने, ” हामीले ४ देखि १४ वर्षका बालबालिकालाई फुटबलको प्राविधिक ज्ञान मात्र होइन, मैदानबाटै अनुशासन, सहकार्य र नेतृत्वजस्ता जीवनोपयोगी सीप सिकाएर उनीहरूको समग्र व्यक्तित्व विकासमा योगदान पुर्याउने लक्ष्य राखेका छौं।”
यस अभियानअन्तर्गत फिफाले एन्फालाई करिब ५ हजार प्रतिगोटा पर्ने ३२,६४० वटा एडिडास ब्रान्डका फुटबल र कार्यक्रम सञ्चालनका लागि थप ५० हजार अमेरिकी डलर अनुदान दिएको छ । यी बलहरू ७७ वटै जिल्लाका छनोटमा परेका १,०७२ विद्यालयमा वितरण गरिनेछ ।















