२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

बिर्तामोडमा ट्रान्समिटर जडान गर्दा करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु



बिर्तामोड-झापाको बिर्तामोडमा काम गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । मंगलबार दिउँसो बिर्तामोड नगरपालिका-२ स्थित पश्चिम बस स्टेन्डमा रहेको ट्रान्समिटर जडान गर्दा करेन्ट लागेर अर्जुनधारा नगरपालिका-४, भाङबारी निवासी ३५ वर्षीय दीपक पाण्डेको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, प्राधिकरणको बिर्तामोड वितरण केन्द्रमा फिल्ड कर्मचारीको रूपमा कार्यरत पाण्डे दिउँसो करिब २:२० बजे ट्रान्समिटरमा काम गर्दै थिए । सोही क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

घटना लगत्तै उनका सहकर्मीहरूले तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्‍याएका थिए । तर, अस्पतालका डाक्टरले दिउँसो ३:०० बजे उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

अस्पतालबाट जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनाको मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शुक्रबार ००:००  ४ : ४८ बजे