बिर्तामोड-सभामुख देवराज घिमिरेले स्थानीय तहहरू भौतिक पूर्वाधार निर्माणमा सफल हुँदै गएको भन्दै अबको ध्यान जनतालाई दिने सेवाको गुणस्तर र पारदर्शितामा केन्द्रित गर्न आग्रह गर्नु भएको छ ।
बिर्तामोड नगरपालिकाको करिब ५ करोड लागतमा निर्मित भव्य प्रशासनिक भवनको उद्घाटन गर्दै उहाँले सुशासनको जग बलियो बनाउन स्थानीय सरकारको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने बताउनु भयो ।
‘जब जनताले स्थानीय सरकारबाट छिटो, छरितो र झन्झटमुक्त सेवा पाउँछन्, तब मात्र लोकतन्त्र सुदृढ हुन्छ’, सभामुख घिमिरेले भन्नुभयो ।
उहाँले राष्ट्रिय राजनीतिको प्रसंग जोड्दै संसदमा विचाराधीन भूमि सम्बन्धी कानुन पारित नहुँदा देशभरका भूमिहीन नागरिकले लालपुर्जा पाउन नसकेको समस्याबारे पनि ध्यानाकर्षण गराउनु भयो ।
कानुन अभावले नागरिकलाई जमिनको मालिक बनाउने प्रक्रिया रोकिएको बताउँदै उहाँले वर्तमान संसदबाटै उक्त कानुन पारित गराएरै छाड्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले नगरका विकास योजना र प्रगतिबारे जानकारी गराउनु भएको थियो । नवनिर्मित भवनले नगरपालिकाको सेवालाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।



















