२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान



काठमाडौँ– सरकारले देशैभरका उखु किसानहरूको मेहनतलाई सम्मान गर्दै आगामी आर्थिक वर्षका लागि अनुदान रकम घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किसानलाई थप प्रोत्साहन गर्न प्रतिक्विन्टल उखुमा ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने महत्त्वपूर्ण निर्णय गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पेस गरेको प्रस्तावलाई स्वीकृत गर्दै मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त अनुदान रकम तोकेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार, सरकारको यो निर्णयले उखु खेतीमा टिकिरहेका किसानहरूलाई ठूलो राहत मिल्नेछ ।

‘किसानको पसिनाको मूल्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ, यो निर्णय त्यसैको निरन्तरता हो’, उनले भने ।

केही समयअघि अर्थमन्त्री विष्णु पौडेलले पनि राष्ट्रिय अनुदान नीतिअन्तर्गत उखु किसानलाई दिइँदै आएको अनुदान नरोकिने आश्वासन दिएका थिए ।

गत आर्थिक वर्षमा पनि सरकारले उखु किसानका लागि करिब दुई अर्ब रुपैयाँ बराबरको अनुदान रकम निकासा गरेको थियो ।

सोही अन्तर्गत कृषि मन्त्रालयले आठ जिल्लाका किसानलाई भुक्तानी दिन १ अर्ब ४५ करोड ३२ लाख रुपैयाँभन्दा बढी रकम सम्बन्धित जिल्लामा पठाएको थियो ।

कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सुनसरीका हजारौं किसानहरू उक्त रकमबाट लाभान्वित भएका थिए ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार ००:००  ६ : ०९ बजे