झापा– झापामा वैध बिलबिजक र भन्सार कागजात भएका चाइनिज खरबुजाको बीउ प्रहरीले गोदामको ताला फोडेर जफत गरी भन्सार कार्यालयमा बुझाएको भन्दै व्यवसायीले कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन । उनीहरूले जिल्ला प्रहरी कार्यालय झापाले गृह प्रशासनलाई ‘काम देखाउने’ नाममा कानुन मिचेर निजी क्षेत्रमाथि दबाब सिर्जना गरेको आरोप लगाएका छन ।
भद्रपुरस्थित माँ दुर्गा अर्डर सप्लायर्सले मंगलबार झापा उद्योग वाणिज्य संघका पदाधिकारीको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै बिलबिजक, भन्सार कागजात र भीसीटीएस प्रणालीमा दर्ता भएका सामानलाई ‘भन्सार छलीको उद्देश्य’ भन्दै जफत गर्नु गैरकानुनी भएको दाबी गरेको हो ।
व्यवसायीका अनुसार प्रहरीले गोदाममा छापा मार्दा सम्बन्धित व्यवसायीलाई उपस्थित गराइएन । कृषि विभाग, बीउबिजन गुण नियन्त्रण केन्द्र, प्लान्ट क्वारेन्टिन तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिलाई पनि सहभागी गराइएन । बरामद गरिएको सामानको भरपाईसमेत नदिई गोदामबाटै सामान उठाइएको उनीहरूको आरोप छ । बरामद मुचुल्कामा भने स्थानीय बासिन्दाको मात्रै हस्ताक्षर गराइएको बताइएको छ ।
नेपालको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार खानतलासी र बरामद प्रक्रिया पारदर्शी, प्रमाणित र कानुनी विधिअनुसार हुनुपर्ने व्यवस्था रहे पनि प्रहरीले त्यसको पालना नगरेको व्यवसायीहरूको भनाइ छ ।
माँ दुर्गा अर्डर सप्लायर्सका सञ्चालक राजेन्द्र थापा मगरले आफू झापाबाहिर रहेको जानकारी गराउँदागराउँदै प्रहरीले गोदाम फोडेर सामान उठाएको बताए ।
“बिलबिजक भएको वैध सामानलाई भन्सार छलीको उद्देश्य भन्दै जफत गर्न पाइन्छ ? यदि उद्देश्यकै आधारमा गोदाम फोड्ने हो भने भोलि कसैको पनि गोदाम सुरक्षित रहँदैन,” उनले भने, “अब न्यायका लागि अदालत जानुको विकल्प छैन ।”
प्रहरीले गोदामबाहिर टाँसेको खानतलासी सूचनामा पनि ‘भन्सार छली कसुर’ उल्लेख गरिएको थियो । तर, जफत गरिएको बीउ वैध रूपमा आयात भएको र त्यसको भीसीटीएससहितको अनलाइन बिल उपलब्ध रहेको व्यवसायीको दाबी छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य उमेश डालमियाले सम्बन्धित व्यवसायी सम्पर्कमा आइसकेपछि गोदाम सिल गरेर कानुनी प्रक्रिया पूरा गर्नुपर्नेमा प्रहरीले हतारमा सामान उठाएको बताए ।
“यो निजी क्षेत्रका लागि गलत सन्देश हो। व्यवसायी उपस्थित भएपछि कानुनी प्रक्रिया पूरा गरेर मात्रै गोदाम खोलिनुपर्थ्यो। त्यो नगरी सामान उठाउनु उचित भएन,” उनले भने ।
झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरेले बिलबिजक भएको सामानसमेत असुरक्षित हुने अवस्था सिर्जना भएको टिप्पणी गरे । “बिलबिजक किन काटिन्छ ? त्यसको परीक्षण गर्ने निकाय कुन हो ? सम्बन्धित निकायले व्यवसायीसँग भएका कागजात हेर्नै नचाहने हो भने लगानीकर्ताले राज्यप्रति कसरी विश्वास गर्ने ?” उनले प्रश्न गरे ।
संघका महासचिव सुमन्त मैनालीले पनि सम्बन्धित व्यवसायीको भनाइ नसुनी वैध सामान जफत गर्नु गलत अभ्यास भएको बताए ।
घटनाअनुसार आइतबार साँझ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बसुन्धरा खड्का सादा पोसाकमा भद्रपुर-३ स्थित गोदाम पुगेकी थिइन । त्यसपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको करिब ५५ सदस्यीय टोलीले भीमलाल सुवेदीको घरमा रहेको दुईवटा सटर गोदामबाट ९४८ बोरा चाइनिज खरबुजाको बीउ बरामद गरेको थियो ।
प्रहरीले ३७ हजार ९२० किलोग्राम बीउको मूल्य ८९ लाख ७७ हजार ४० रुपैयाँ कायम गर्दै भद्रपुर भन्सार कार्यालय बुझाएको छ । भन्सार पठाइएको पत्रमा भने उक्त सामान ‘भन्सार चोरी पैठारी गर्ने उद्देश्यले राखिएको अवैध सामान’ उल्लेख गरिएको छ ।
तर, व्यवसायीले प्रस्तुत गरेका कागजातअनुसार कुबेर एक्जिम काठमाडौंले वैशाख १३ गते ४५० बोरा (१,८०० किलो) बीउको ३२ लाख ५४ हजार ४०० रुपैयाँ बराबरको भ्याटसहितको बिल काटेको छ । त्यसैगरी पशुपति एक्जिम काठमाडौंले जेठ १३ गते ५२५ बोरा (२,१०० किलो) बीउको ३७ लाख ९६ हजार ८०० रुपैयाँ बराबरको भ्याटसहितको बिल जारी गरेको देखिन्छ। दुवै कारोबार भीसीटीएस प्रणालीमा अभिलेखित रहेको व्यवसायीको दाबी छ ।
व्यवसायीहरूले वैध कागजात भएका सामानलाई अवैध घोषणा गरेर जफत गरिएको भन्दै घटनाको निष्पक्ष छानबिन, सामान फिर्ता र कानुनी उपचारका लागि अदालत जाने तयारी गरेका छन । यता, जिल्ला प्रहरी कार्यालय झापाले भने घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।


















