७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

सिम्रिक सहकारीका व्यवस्थापक र सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम



बिर्तामोड-चार जिल्ला (झापा, मोरङ, इलाम, पाँचथर) मा ४६ सेवा केन्द्रमार्फत आफ्नो सञ्जाल फैलाएको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना व्यवस्थापक, सञ्चालक समिति सदस्य तथा अन्य पदाधिकारीहरुका लागि दुई दिने (जेठ १६ र १७ गते) महत्वपूर्ण तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

अभिमुखीकरण कार्यक्रम आगामी आर्थिक वर्ष २०८२/८३ लाई लक्षित गर्दै आयोजना गरिएको थियो। यसको मुख्य उद्देश्य संस्थाको समग्र व्यवस्थापनलाई सुदृढ पार्ने, जोखिम न्यूनीकरण गर्ने, क्षमता अभिवृद्धि गर्ने र कर प्रणालीबारे स्पष्ट पार्नु रहेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताउनुभयो।

कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार हरिबहादुर खत्री र वरिष्ठ अधिकृत मनोज कार्की, सी.ए. श्रीप्रसाद निरौला तथा आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर अधिकृत डोरबहादुर सुनुवारले प्रशिक्षण दिनुभएको थियो।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको तालिममा सहकारी विकास, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, नयाँ सहकारी मापदण्ड, एनएफआरएसका सूचक र कर प्रणालीका विविध पक्षमा गहन छलफल र जानकारी प्रदान गरिएको छ।

तालिमले व्यवस्थापकहरूको क्षमता बढाएर संस्थालाई थप व्यावसायिक, सुशासित र सफल बनाउन महत्वपूर्ण योगदान पुऱ्याउने सिम्रिक साकोसले विश्वास लिएको छ। कार्यकारी प्रमुख बस्नेतले वर्तमान वित्तीय चुनौतीहरूलाई सामना गर्दै संस्थालाई अझ बलियो बनाउन तालिम आयोजना गरिएको बताउनुभयो।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, शनिबार ००:००  ९ : १४ बजे