२६ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025

बाढी पीडित सदस्यलाई सिम्रिकको राहत



झापा-सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.ले इलाम जिल्लाका बाढी पीडित सदस्यहरूलाई राहत उपलब्ध गराएको छ । संस्थाले माइ नगरपालिका कार्यक्षेत्र अन्तर्गतको सितली सेवा केन्द्रका १६ जना सदस्यलाई राहत उपलब्ध गराएको हो ।

केही दिन अगाडिको अविरल वर्षासँगै आएको पहिरोमा परी घरबारविहीन बनेका सदस्यलाई सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाले खाद्यान्नसहितका सामग्री हस्तान्तरण गरेको संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए । संस्थाले माइ नगरपालिकाको सितली बजारमा संक्षिप्त कार्यक्रमका बीच पीडित सदस्यलाई राहत प्रदान गरेको हो ।

माइ नगरपालिका २ का वडाध्यक्ष उर्दबहादुर राईको उपस्थितिमा पीडित सदस्यलाई कार्यकारी प्रमुख बस्नेत, संस्थाका सचिव इन्द्र बहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट, जनसम्पर्क अधिकारी विजय बस्नेत, आई.टी. अधिकृत विजय पाण्डे, सेवा केन्द्र प्रमुख भानुभक्त गौतम लगायतले चामल, दाल, नुन, तेल लगायतका सामग्री प्रदान गरेका थिए ।

संस्थाले चार दिन अघि झापाको झापा गाउँपालिकामा बाढीबाट विस्थापित बनेका नागरिकलाई पनि स्थानीय तह तथा प्रशासनको समन्वयमा राहत उपलब्ध गराएको थियो । संस्थाले झापा गाउँपालिकामा बाढीबाट पीडित बनेका आफ्ना सदस्यलाई पनि केही दिन भित्रमै राहत उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार ००:००  ११ : २९ बजे