झापा- बिर्तामोड नगरपालिकाले रोजगारी सिर्जना र युवालाई दक्ष बनाउन सक्रियता देखाएको छ । नगरको रोजगार सेवा केन्द्रमार्फत स्थानीयस्तरमा रोजगारीका अवसरहरू बढाउने र उत्पादनशील श्रमशक्ति तयार पार्ने काम भइरहेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा ६ लाख ५९ हजार रुपैयाँ लागतमा ४० जना युवालाई ५० दिने निर्माणसम्बन्धी तालिम प्रदान गरिरहेको छ । यसको उद्देश्य युवालाई आधुनिक निर्माण सीप सिकाएर आन्तरिक बजारमा प्रतिस्पर्धी बनाउनु हो ।
हालसम्म ५७ जना युवालाई प्रत्यक्ष रोजगारीमा जोडिएको छ । रोजगार सेवा केन्द्रले आफ्नो ३६ लाख २२ हजारको बजेटमध्ये ७० प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ ।
केन्द्रका प्रमुख होमनाथ भट्टराईका अनुसार, संघ र प्रदेशका तालिम सहजीकरणका साथै यस वर्ष चारसय जना भन्दाबढीलाई श्रम स्वीकृति दिइएको छ । एकसय जना भन्दाबढीलाई वैदेशिक रोजगार परामर्श दिइएको भट्टराईले बताउनु भयो । ठगीमा परेका १२ युवालाई सहयोग पनि गरिएको छ ।
बिर्तामोडमा सूचीकृत ५०० भन्दा बढी बेरोजगारलाई क्रमशः रोजगारीमा जोड्ने र विदेशबाट फर्केकाहरूको तथ्याङ्क संकलन गर्ने काम पनि भइरहेको भट्टराईले बताउनु भयो ।
श्रमिक सुरक्षाका लागि ट्रेड युनियनमा आबद्धहरूको दुर्घटना बीमा अनिवार्य गरिएको छ । श्रमिक हित कोषमा १० लाखभन्दा बढी रकम जम्मा भइसकेको छ । जसमा एक हजार भन्दाबढी श्रमिक आबद्ध छन् ।
हालसम्म एक हजार तीनसय श्रमिकको तथ्याङ्क संकलन गरी हित कोषमा जोड्ने प्रयास जारी छ । निर्माण क्षेत्रका श्रमिकलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालिम पनि दिइँदै आएको छ ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले वैदेशिक रोजगारी माथिको निर्भरता घटाएर आन्तरिक रोजगारी र उद्यमशीलता बढाउनु नगरको लक्ष्य भएको बताउनु भयो ।
















