झापा-चीनको सिगात्सेदेखि २३ किलोमिटर टाढा केन्द्रबिन्दु भएर मङ्गलबार बिहान ६:५० मा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का राजधानी काठमाडौँसहित पूर्वी नेपालका जिल्लाहरूमा समेत महसुस भयो ।
निकैबेर हल्लाएपछि अत्तालिँदै राजधानीबासी घर बाहिर निस्किएका छन् । भूकम्पको धक्का नेपाल, बङ्गलादेश, भारत भुटान र चीनमा महसुस भएको सञ्चारमाध्यमले जनाएका छन् ।
खानी तथा भूगर्भ विभागका अनुसार नेपाल चीन सीमा तिब्बतको दिगे कान्टीमा भूकम्पको केन्द्रबिन्दु रहेको छ ।
भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ । भूकम्पको केन्द्रबिन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ ।
सोलुखुम्बु प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण गिरीले जिल्लामा भूकम्पको ठूलो धक्का महसुस भएको र क्षति भए नभएका विषयमा भने बुझ्ने काम भइरहेको बताए ।
















