१ असार २०८३, सोमबार | Mon Jun 15 2026

उपाधिसँगै अर्जुनधाराले जित्यो तीन लाख



भद्रपुर-भद्रपुरको मेची रंगशालामा सम्पन्न प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा भएको प्रतियोगिताको आइतवार सम्पन्न फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो ।

उपाधिसँगै अर्जुनधाराले नगद तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा सीमित बुद्धशान्तिले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

खेलमा अर्जुनधाराले बुद्धशान्तिलाई ३–० गोल अन्तरले हराएको हो । अर्जुनधाराका लागि खेलको १५ औँ मिनेटमा शान्तिराम बस्नेत, ३० औँ मिनेटमा निखिल तामाङ र ५८ औँ मिनेटमा बादल तामाङले गोल गरेका छन् ।

फाइनल खेलको प्लेयर अफ द म्याच अर्जुनधाराका बादल तामाङ भएका छन् । उनले नगद दुई हजार रुपैयाँ र ट्रफी पाएका छन् ।

प्रतियोगिताका उत्कृष्ट गोल किप्पर अर्जुनधाराका अनुप तामाङ, उत्कृष्ट प्रशिक्षक अर्जुनधाराका पुष्प मादेन, उच्च गोलकर्ता बुद्धशान्तिका बबिन बाहोरा र उदीयमान खेलाडी भद्रपुर ब्लेजर्सका मौसम लिम्बू भएका छन् । उनीहरुले नगद ५ हजार, ट्रफी र मेडल प्राप्त गरेका छन् ।

प्रतियोगिताभरिका सर्वोत्कृष्ट खेलाडी अर्जुनधाराका निखिल तामाङ भएका छन् । उनले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गरेका छन् ।

विजेता तथा उपविजेता खेलाडी तथा अफिसियललाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, महासचिव जीवनकुमार श्रेष्ठ, प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दीपक पोखरेल, भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, प्रमुख सल्लाहकार टीकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत लगायतले पुरस्कार वितरण गरेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार ००:००  ८ : २७ बजे