१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विराटनगर पूर्ण खोप सुनिश्चित महानगर




विराटनगर-कोसी प्रदेशको राजधानी विराटनगर महानगरपालिका आइतबारदेखि पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको छ । जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले पूर्ण खोप सुनिश्चित पालिका भएको घोषणा गरेका हुन् ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत बिष्णुकुमार कोइरालालाई पूर्ण खोप सुनिश्चित भएको पत्र हस्तान्तरण गरेका छन् ।

महानगरका मेयर नागेश कोइरालाले सबैको साथ र सहयोगले विराटनगरलाई पूर्ण खोप सुनिश्चितता गर्न सफल भएको बताए । उनले विराटनगरमा १७ हजार ५०२ जना बालबालिकाहरूलाई खोप लगाइसकिएको जानकारी दिए ।

पूर्ण खोपबाट वञ्चित हुँदै आएका एक हजार ५९२ जना बालबालिकाहरूले समेत खोप प्राप्त गरेपछि महानगरलाई पूर्ण खोप प्राप्त गर्ने पालिका घोषणा गर्न सम्भव भएको हो ।

महानगरपालिकामा जन्मिएको १५ महिनाभित्र सात पटकसम्म १३ प्रकारको खोप लगाइसकेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार ००:००  ८ : ४६ बजे