सुब्रत न्यौपाने
झापाको पर्यटकीय केन्द्र दोमुखाको विकास र प्रवद्र्धनका लागि पूर्वाधार व्यवस्थापन योजना अगाडि सारिएको छ । झापाको शिवसताक्षी नगरपालिकाले अगाडि सारेको योजनामा दोमुखा जाने सडक कालोपत्रे गर्नेदेखि जीप लाइन बनाउने सम्मका दीर्घकालिन योजना समेटिएका छन् ।
पर्यटकको सुविधाका लागि सडक विस्तार योजनामा यसपटक शिवसताक्षी नगरपालिका आफैँले हात हालेको छ । पटक–पटक गुहार्दा समेत केन्द्र सरकारबाट अपेक्षित सहयोग नपाएपछि स्थानीय सरकारले दोमुखाको विकासका लागि आफैँ चासो दिएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङग थोप्राले बताए ।
मनोरम प्राकृतिक वातावरणमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि झापाको शिवसताक्षी नगरपालिकाले आफ्नै लगानीमा दोमुखासम्म जाने तीन किलोमिटर सडकलाई कालोपत्रे गर्ने तयारी गरेको छ । यसैवर्ष माइधार चोकदेखि दोमुखासम्म पर्यटकीय सडक निर्माण पूरा हुनेछ ।
‘यो सडकलाई सेल्फीरोडका रुपमा व्युटीफिकेसन गर्ने र दोमुखामा जीप लाइन बनाउने नगरपालिकाको योजना छ’, नगर प्रमुख थोप्राले भने, ‘दोमुखाको विकासका लागि मात्रै यसवर्ष सातकरोड रुपैयाँ खर्च हुँदैछ ।’
सडक कालोपत्रे र कल्भर्ट निर्माण लगायतका पूर्वाधार व्यवस्थापनमा नगरपालिकाले उक्त रकम खर्चिन लागेको हो । दक्षिणी इलामको चुरे क्षेत्रसँग जोडिएको दोमुखा कनकाई नदीको किनारमा अवस्थित छ ।
- बजेट तयारी तीव्र : अर्थ मन्त्रालय प्रवेशमा कडाई
- ८४ को निर्वाचनले अझै अस्थिरता निम्त्याउन सक्छ : भुसाल
- मृत्युपछि पनि खतिवडाको परोपकारी भावना जीवित
- झापामा ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
- झापाका किसान भारतीय खरबुजा सँगको अस्वस्थ प्रतिस्पर्धाले मारमा
वरिपरिको हरियाली वातावरण र त्यस वरपर बनेका संरचनाले दोमुखाको पहिचान स्थापित गरेको हो । मनोरम प्राकृतिक वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेपनि भौतिक पूर्वाधार र सडक सञ्जालको विकासमा दोमुखाले अपेक्षाकृत प्रगति गर्न सकिरहेको छैन् ।
पिकनिक स्पोटका रुपमा चिनिएको दोमुखामा स्वीमिङ पुल निर्माणाधीन अवस्थामा छ । बाल उद्यान लगायतका भौतिक संरचनाको निर्माणका लागि गुरुयोजना अनुसारका काम अगाडि बढाइएको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाका अध्यक्ष धनप्रसाद लावती बताउँछन् ।
झापाका धेरै पर्यटकीयस्थलमध्ये रमणीय प्राकृतिक वातावरणका दृष्टिले झापाको शिवसताक्षी नगरपालिकामा पर्ने दोमुखाले विशिष्ट महत्व राख्छ ।
तराई र पहाडको एउटा संगमका रुपमा दोमुखाले आन्तरिक तथा बाह्य पर्यटकको मन जितिरहेको स्थानीय समेत रहेका अग्रज पत्रकार छबिलाल दवाडी बताउँछन् ।
धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रुपमा रहेको दोमुखाको कनकाई नदी किनारमा दैनिक सयौंको संख्यामा मानिसहरु पित्री कार्यका लागि पुग्ने गरेका छन् ।
दोमुखामा रहेको झोलुङे पुलले पनि पर्यटक आकर्षित गरिरहेको छ । प्रचण्ड गर्मीमा दोमुखाको शीतलता ताप्न आउनेको घुइँचो लाग्छ । माइ खोलामा पौडी खेल्नेहरु पनि उत्तिकै भेटिन्छन् ।