६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

झापामा निर्माण व्यवसायीद्वारा काम ठप्प



झापा- झापाका निर्माण व्यवसायीले सरकारी विकास-निर्माणका काम आजदेखि ठप्प पारेका छन् । निर्माण सामग्री, पेट्रोलियम पदार्थ, ढुवानी तथा श्रमिक लागतमा भएको अत्यधिक मूल्यवृद्धिका कारण पुरानै दररेटमा काम गर्न नसकिने भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलन कार्यक्रमअनुसार निर्माण व्यवसायी संघ झापाको नेतृत्वमा व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापासहित विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन् ।

संघका अध्यक्ष रमेश अधिकारीले मूल्य समायोजनको माग गर्दै संघीय तथा प्रदेश सरकारका निकायमा पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताए । “निर्माण सामग्रीको मूल्य दोब्बर भइसकेको छ, यस्तो अवस्थामा पुरानै दररेटमा काम गर्न सम्भव छैन,” उनले भने ।

निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापामा सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि उनीहरूले प्रशासन परिसरमा केही समय धर्ना दिएका थिए । टोलीले सिंचाइ विकास डिभिजन कार्यालय झापा, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय र जिल्ला पूर्वाधार कार्यालयमा समेत ज्ञापनपत्र बुझाएको जनाएको छ ।

संघका महासचिव पुष्पराज निरौलाका अनुसार अहिलेको अवस्थामा काम गर्दा व्यवसायीहरू गम्भीर आर्थिक संकटमा पर्ने अवस्था छ । “काम नगरेको भन्दै कालोसूचीमा राख्ने, बैंक ग्यारेन्टी जफत गर्ने चेतावनीसमेत आउन थालेको छ,” उनले भने ।

ज्ञापनमा डिजेल, बिटुमिनलगायत निर्माण सामग्रीको मूल्य अत्यधिक बढेपछि निर्माण क्षेत्र संकटमा परेको उल्लेख गरिएको छ । संघका अनुसार रुस-युक्रेन युद्धअघि प्रतिलिटर १२९ रुपैयाँ रहेको डिजेलको मूल्य बढेर २२५ रुपैयाँ पुगेको छ भने बिटुमिनको मूल्य प्रतिकेजी ७५ रुपैयाँबाट १६५ रुपैयाँ पुगेको छ ।

निर्माण व्यवसायीहरूले काम रोकेपछि झापाका सयौं विकास आयोजना प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार ००:००  २ : १३ बजे