१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

प्रदेशको नाम टुंगो लगाउन कार्कीको नेतृत्वमा समिति




झापा- नेकपा एमाले संसदीय दलको बैठकले प्रदेश १ को नामकरणको बारेमा छलफल गर्न समिति गठन गरेको छ । बिहीबार बिहान संसद् सचिवालयमा बसेको एमाले संसदीय दलको बैठकले समिति गठन गरेको हो ।

बैठकले तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की संयोजक रहेको पाँच सदस्यी नामकरण बारेमा छलफल गर्ने समिति बनाएको छ ।

समितिको सदस्यमा जीवन घिमिरे, जगदीशप्रसाद कुसियत, उषाकला राई र अर्जुन राई रहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो ।

समितिले प्रदेश १ को नामकरण गर्ने बारेमा सत्तामा रहेका दललहरुसँग छलफल गर्ने र निर्णयमा पुग्ने जनाइएको छ ।

प्रदेश १ ले नाम पाउन नसकेको अवस्थामा प्रदेशको नामकरण हुनु पर्ने चौतर्फी माग उठेपछि नेकपा एमालेले समिति बनाएको हो ।

सात प्रदेशमध्ये प्रदेश १ को मात्रै नामकरण बाँकी हुँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आवद्ध गठबन्धन सरकारको आलोचना हुँदै आएको छ ।

सरकारको तर्फबाट नामाकरणको प्रयासका लागि तत्कालीन सामाजिक विकासमन्त्री जयराम यादवको संयोजकत्वमा समिति समेत गठन गरेपनि त्यो समिति निस्प्रभावी भएको छ ।

नाम टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ बहुमत आवश्यक पर्ने भएका कारण सत्ता पक्षले आफुहरूसँग रहेको सामान्य बहुमत अपर्याप्त हुने भएपछि एमालेको भूमिका खोजी भएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार ००:००  ३ : १७ बजे