१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

खेलाडी–प्रशिक्षक विवादः तीन सदस्यीय छानबिन कार्यदल



काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीचको विवाद विषयमा छानबिन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका पूर्व उपरथी भिक्टर राणाको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदलमा पूर्वअन्तर्राष्ट्रिय खेलाडी बिदूर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सदस्य छन् ।

कार्यदललाई खेलाडी–प्रशिक्षक विवादको विषयमा तथ्य पत्ता लगाउने जिम्मेवारी हुनेछ ।

आइतबार बसेको एन्फाको कार्यसमिति बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

दुई साताअघि दश जना सिनियर खेलाडीले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाडेका थिए ।

प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए ।

हाल माल्दिभ्समा रहेका कप्तान किरणकुमार लिम्बूले पनि प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै खेलाडीलाई समर्थन गर्ने बताएका थिए ।

नेपालले आगामी जेठ ११ र जेठ १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले एसियन कपको छनोटअघि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यो खेल कतारमा हुनेछ ।

एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जाने कार्यक्रम छ ।

एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ । समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ ।

नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन् । खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन् ।

नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार ००:००  ८ : ४० बजे