३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

एमालेका बागी उमेद्वारलाई कार्बाही



उदयपुर- पार्टी हितविपरीत काम गरेको भन्दै नेकपा एमाले उदयपुरले सात जना नेता कार्यकर्तालाई अनुशासनको कार्वाही गरेको छ। पार्टीका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनमा पार्टी निर्णयविपरीत उमेदवारी दिएका सबैलाई कार्वाही गरिएको हो।

कार्वाहीमा पर्नेमा त्रियुगा नगरपालिका १ का नारायण ढकाल, रौतामाई गाउँपालिका ३ लाफागाउँका खिलराज राई, उदयपुरगढी गाउँपालिका ५ का बसन्त पौडेल, सोही गाउँपालिका वडा नं २ का इन्द्रबहादुर राउत, बेलका नगरपालिका ९ का तेजमान विक, त्रिनपा ४ का लोकेश कटुवाल र कटारी नपा ४ का भुपेश तामाङ रहेका छन्।

पार्टीका सल्लाहकार सदस्य रहेका ढकालले त्रिनपा १ मा वडाध्यक्षको उमेदवारी दिएका छन्। त्यसैगरी रौतामाई गाउँपालिका कमिटीका उपाध्यक्ष रहेका राईले वडा नं ३ को वडाध्यक्ष, विभागीय सदस्य रहेका पौडेलले उदयपुरगढी गाउँपालिकाको अध्यक्ष, संगठित सदस्य रहेका राउतले उदयपुरगढी २ का वडाध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिएका छन्।

त्यस्तै लेखा आयोगका सदस्य रहेका बिक बेलका २ का वडाध्यक्ष, नगरकमिटी सदस्य रहेका कटुवाल त्रिनपा ४ का वडाध्यक्ष र वडा कमिटी अध्यक्ष रहेका तामाङ्ग कटारी ४ को स्वतन्त्र उमेदवार हुन्।

यसअघि कटारी नगरपालिकामा स्वतन्त्र उमेदवारी दिएकी प्रदेश कमिटी सचिवालय सदस्य भीमकुमारी राउतलाई अनुशासनको कार्वाही गरिसकेको छ। आधिकारिक उमेदवारविरुद्ध बागी उमेदवारी दर्ता गरेको र उम्मेदवारी फिर्ता लिन गरेको अनुरोधलाई अस्वीकार गरी उम्मेदवारी कायम राखेकाले कार्वाही गरिएको अध्यक्ष घिमिरेले बताए।

उनीहरुलाई पार्टीको विधानको धारा ८० को उपधारा (६) अनुसार अनुशासन उल्लंघन गरेको हुनाले धारा ८१ को (१) बमोजिम पदबाट निश्कासन र सदस्यता निलम्बन गरेको घिमिरेले जानकारी दिए।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार ००:००  १ : ४७ बजे