झापा – नेपाल र जिम्बावे ‘ए’ बीचको टी–२० सिरिज आइतबारबाट सुरू भएको छ ।
त्रिवि मैदानमा सुरु भएको पहिलो टी–२० मा नेपालले पहिले ब्याटिङ गर्दै १८१ रनको विशाल योगफल तयार पारेको छ । निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै नेपालले १८१ रन जोडेको हो ।
नेपालका लागि मध्यक्रममा ब्याटिङ गर्न आएका विष्फोटक ब्याट्सम्यान मोहम्मद आदिल अन्सारीले उत्कृष्ट फिनिसिङ गर्दै २७ बलमा अविजित रहँदै ४७ रन जोडे । अर्धशतकबाट उनी मात्र ३ रन टाढा रहे ।
त्यस्तै, प्रारम्भिक ब्याट्सम्यानहरु कुशल भुर्तेलले ३१ बलमा ४६ र आसिफ शेखले ९ बलमा १६ रन बनाए । रोहित पौडेलले २६ बलमा ३६, दीपेन्द्रसिंह ऐरीले १३ बलमा २८, आरिफ शेखले ४ बलमा २ रन जोड्न सके । अलराउन्डर करण केसी ४ बलमा ४ रन बनाउँदै अविजित रहे ।
जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । अब जिम्बावे १८२ रनको लक्ष्यसहित केहीबेरमा मैदान उत्रिने छ ।
दोस्रो टी–२० वैशाख १९ मा र तेस्रो टी–२० वैशाख २१ मा हुनेछ। एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन् ।
नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ए टिमसँग तयारीस्वरुप खेल्न थालेको हो ।