१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

जनमुखी एजेन्डा लिएर बिर्तामोडमा मत माग्दै एमाले




झापा–नगरबासीको चासोका मूल मुद्दालाई केन्द्रमा राखेर नेकपा एमाले नगर कमिटी बिर्तामोडले स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । बिर्तामोडमा आज बिहान आयोजित कार्यक्रमका बीच एमाले नगर कमिटीले नगरको सामाजिक आर्थिक विकासका अधिकतम् सम्भावनालाई समेटेर प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।

नगर योजना आयोगको निर्माण गरी विकासका योजना बनाउने, त्यसको प्राथमिकीकरण गर्ने, जनस्तरसम्म लैजाने र निजी तथा सहकारीक्षेत्रसँग सहकार्य गरी समाजवाद उन्मुख अवस्थासम्म पुग्ने परिकल्पना प्रतिवद्धतापत्रमा छ । नागरिकको जीवनस्तर उकास्न कृषि तथा उत्पादकत्व बृद्धिमा जोड दिँदै प्रतिवद्धतापत्रमा त्यस अनुसार लगानी, अनुदान र उपकरणको व्यवस्था गर्ने जनाइएको छ ।

नगर प्रमुखकी उमेद्वार पवित्रा महतरा प्रसाईले प्रतिवद्धतामा उल्लेख भए अनुसारका काम गर्न एमालेलाई जनताले मन र मत दिएर जिताउनु पर्ने बताइन् । उपप्रमुखका उमेद्वार नगेन्द्र संग्रौलाले बिर्तामोडको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकार गठन हुनु पर्ने बताए ।

आवासविहीन विपन्न नागरिकका लागि एक हजार घर बनाइदिने योजनासहित एमालेले सर्वसुलभ शिक्षा, प्राविधिक जनशक्ति उत्पादन लगायत विषयमा पनि जोड दिएको छ ।

कृषि उत्पादनलाई बृद्धि गर्न जैविक÷अर्गानिक कृषिलाई प्रोत्साहित गर्दै निर्वाहमुखी कृषि पद्धतिलाई व्यवसायिक पद्धतिमा रुपान्तरण गर्ने लगायतका कार्यक्रम पनि प्रतिवद्धतापत्रमा समेटिएका छन् ।

थप तीन वटा चिस्यान गृह, माटो परीक्षण प्रयोगशाला स्थापना, कृषि बजारको व्यवस्थापन, विभिन्न वडामा थप ५०० वटा स्यालो ट्युवेल जडान गर्ने लगायतका विषयले पनि प्राथमिकता पाएका छन् ।

नगर अस्पताललाई सुरक्षित प्रसुति गृहसहित ५० शैयाको बनाउने, नगर अस्पतालमा मृगौलाका रोगीका लागि डायलाइसिस सेवाको ब्यवस्थापन गर्ने, ५० वटा अक्सिजन सिलिण्डर ब्यवस्था गर्ने योजना अघि सारिएको छ ।
फोहोरबाट मोहोर निकाल्न सार्वजनिक, निजी र सहकारीको साझेदारीलाई अगाडि बढाइने, पनि एमालेले जनाएको छ ।

डोमालाल राजवंशी रंगशालाको स्तर उन्नति गरी ५ वर्षभित्रमा कम्तिमा ७ हजार ५ सय सीट क्षमताको प्याराफिट, कवर्ड हल निर्माण गरिने जनाइएको छ । प्रतिवद्धता पत्रले जनताको आवश्यकताका सबै विषयलाई समेटेको र एमाले नेतृत्वको स्थानीय सरकार बन्नासाथ कार्यान्वयनको चरणमा लगिने एमाले झापाका इन्चार्ज अग्नि खरेलले बताए ।

प्रतिवद्वता पत्र सार्वजनिक कार्यक्रममा एमाले झापा इन्चार्ज अग्नि खरेल, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, नरेश खरेल, प्रदेश सांसद एकराज कार्की, जसमाया गजमेर नगर अध्यक्ष सुवास भट्टराई लगायतका नेताको उपस्थिति सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार ००:००  ९ : २१ बजे