३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

उमेद्वार छनोटमा कार्यकर्ताको जनमत अस्वीकृत गर्ने एमालेको संकेत



बिर्तामोड–नेकपा एमाले झापाले स्थानीय तहका उमेद्वार छनोट प्रक्रियामा अवलम्वन गरिएको आन्तरिक विधिमार्फत कार्यकर्ता तहबाट प्रतिविम्वित जनमत अस्वीकृत हुन सक्ने संकेत गरेको छ ।

निर्वाचनमार्फत कार्यकर्ताको मतभारका आधारमा छानिएको भनिएका स्थानीय तहका उमेद्वारको नाम आधिकारिक नभएको जनाउँदै त्यसमा पार्टीले अनुकुलताका आधारमा संशोधन र हेरफेर गर्न सक्ने एमालेले प्रष्ट्याएको हो ।

छनोटका अनेक चरणमध्ये कार्यकर्ताको जनमत बुझ्ने प्रक्रिया एउटा भएको जनाउँदै सञ्चारमाध्यममा आएका उमेद्वारका नाम आधिकारिक नभएको एमालेले स्पष्ट पारेको छ ।

एमाले झापाका अध्यक्ष दीपक कार्कीले आज अपरान्ह विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा आएका उमेद्वारका नाम आधिकारिक नभएको जनाएका छन् ।

अधिकतम लोकप्रिय, निष्ठावान, प्रतिबद्ध उम्मेदवार छनौट गर्न पार्टी कमिटीले आन्तरिक जनवाद प्रयोग गरिरहेको भन्दै अध्यक्ष कार्कीले कार्यकर्ताले दिएको मतभारलाई मात्रै आधिकारिक मान्न नसकिने जनाएका हुन् ।

एमालेको विज्ञप्तिले कार्यकर्ताको मतभारका आधारमा छानिएका नाम अस्वीकृत हुने सम्भावनालाई एक हदसम्म जीवित राखेको छ ।

‘छनौटका अनेक चरणमध्ये कार्यकर्ताको अभिमत बुझ्ने कार्यलाई केही सामाजिक सञ्जालहरुमा उम्मेदवार छनौट भइसकेको ढंगले प्रचार गरिएको पाइएको छ । त्यो आधिकारिक नभएको जानकारी गराउँदछौँ’, अध्यक्ष कार्कीको विज्ञप्तिमा भनिएको छ ।

कार्यकर्ताको जनमत बुझ्ने भन्दै एमालेका स्थानीय कमिटीले माथिल्लो निर्देशन अनुसार स्थानीय तहका उमेद्वारका आकांक्षीबीच हिजो र आज निर्वाचन गराएका छन् ।

निर्वाचनमा प्राप्त भएको मतभारका आधारमा उमेद्वार सिफारिस गर्ने भनिए पनि त्यसलाई मात्रै पार्टीले ‘पर्याप्त आधार’ नमान्ने भएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ००:००  ७ : ५९ बजे