- भण्डारी र भूर्तेललाई पूर्ण टुङ्ग आदर्श नागरिक सम्मान समर्पण गर्ने निर्णय
- चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ज्ञापन
- पक्राउ परेको साढे चार घण्टापछि रिहा भए रेशम चौधरी
- नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
बिर्तामोड– झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ । झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले उद्घाटन गरे । संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि आङबो, नेकपा एमाले झापाका सचिव शिव ढुंगेल, नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए । सम्मेलनको पहिलो दिन संघका वरिष्ठ उपाध्यक्ष गिरीले झापामा सहकारीको सम्भावना र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, अस्ट्रेलियाका लागि पूर्वराजदुत महेशराज दाहालको उत्प्रेरणात्मक प्रस्तुति पनि आज सकिएको छ ।
पहिलो दिनको अन्तिम कार्यपत्र नेफ्स्कुनका पूर्वकोषाध्यक्ष केशव पोखरेलको रहेको थियो । उनको कार्यपत्रमाथि राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण संयोजक लक्ष्मी उप्रेती टिप्पणी गरेका छन् । यसअघि प्रशिक्षक कुवेर निरौलाले आफ्नो प्रस्तुति राखेका थिए ।
सम्मानित र पुरस्कृतको नाम सार्वजनिक
सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुअघि संघले यस वर्ष सम्मान तथा पुरस्कृत गर्ने संस्था र व्यक्तिको नाम सार्वजनिक गरेको छ । संघका अध्यक्ष गणेश ढकालले यस वर्ष संघले सम्मान गर्नेहरुको नाम घोषणा गरेका हुन् ।
यस वर्ष झापा सहकारी सम्मान पुरस्कार दीपकप्रकाश बाँस्कोटालाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ रहेको छ । त्यस्तै, पूर्वसञ्चालक सम्मान हरिकिशोर आचार्य र उत्कृष्ट सञ्चारकर्मी लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि नगद १० हजार ५५५ रुपैयाँ रहेको छ ।
त्यस्तै, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा सिम्रिक साकोस, उत्कृष्ट कृषि सहकारीमा लगनशील कृषि सहकारी संस्था रहेका छन् ।
उत्कृष्ट बचत कारोबारमा नेपाल बहुउद्देश्यीय र उत्कृष्ट कर्जा कारोबारमा फाल्गुनन्द साकोस रहेका छन् । उनीहरु सबैलाई पुरस्कारस्वरुप नगद १० हजार ५५५ रुपैयाँ प्रदान गरिने अध्यक्ष ढकालले बताए ।
यसैबीच, उत्कृष्ट व्यवस्थापक महिलामा हिमाञ्चल साकोसकी अरुणा राई र पुरुषमा विराट बहुउद्देश्यीयका रुद्र सिटौला रहेका छन् । उनीहरुलाई नगद ५ हजार ५५५ रुपैयाँसहित पुरस्कृत गरिनेछ ।
पुरस्कृत संस्था तथा व्यक्तिहरुलाई संघको आगामी साधारणसभा सम्मान तथा पुरस्कार प्रदान गरिने जनाइएको छ ।