२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

बुट्टाबारी-प्याकुरेल चोक सडक उद्घाटन



बिर्तामोड-बिर्तामोड नगरपालिकाको संरचनागत विकासमा रणनीतिक महत्त्व राख्ने बुट्टाबारी-प्याकुरेल चोक सडक निर्माण सम्पन्न भएको छ ।

विश्व बैंकको ५८ करोड ८३ लाख रुपैयाँ सहयोगमा नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत ६ दशमलव २५ किलोमिटर लामो सडक निर्माण गरिएको हो ।

निर्माण सम्पन्न सडकको बुधबार कोशी प्रदेशका पूर्वमन्त्री एकराज कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा सांसद कार्कीले पछिल्लो समय देशमा केही पनि विकास नभएको भाष्य निर्माण गर्न खोजिए पनि पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय काम भइरहेको बताउनुभयो । 

नगर प्रमुख पवित्रा महतारा प्रसाईंका अनुसार बिर्तामोडबाट सदरमुकाम चन्द्रगढी जोड्ने सडकसँग सीधा सम्पर्क स्थापित गर्ने यो सडकले नगरको यातायात व्यवस्थापन र संरचनागत विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । 

कार्यक्रममा उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले सडक आयोजनाको विस्तृत विवरण प्रस्तुत गर्नु भएको थियो  ।  आरपी-साब- समता जेभीले निर्माण गरेको सडकको २०८० वैशाख २९ गते शिलान्यास गरिएको थियो ।

बहुवर्षीय रणनीतिक महत्त्वको आयोजनाका रूपमा अघि बढाइएको यो सडकले बिर्तामोडको पूर्वाधार विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

सडक निर्माणसँगै बिर्तामोडका तीन वडाबिच आवागमन सहज हुनेछ। स्थानीय समुदायको पहुँच विस्तारसँगै व्यापार, व्यवसाय र आर्थिक गतिविधिमा समेत सडकले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

कार्यक्रममा नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना कार्यालयका निर्देशक लीला खतिवडा, एमाले नेता देवराज कार्की, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति कुलप्रसाद संग्रौला र राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति दीपक दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८३, बिहिबार ००:००  ९ : ०२ बजे