१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

पूर्वेली ढुवानीको ‘चालक अफ द मन्थ’ सविन श्रेष्ठ



बिर्तामोड– चालकहरूको योगदानको कदर गर्दै उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले पूर्वेली ढुवानी सेवा प्रालिले ‘चालक अफ द मन्थ’ कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत असोज महिनाको उत्कृष्ट चालक पाँचथरको फिदिम नगरपालिका-३ का सविन श्रेष्ठ घोषित भएका छन् ।

कम्पनीका अध्यक्ष निर्मलराज खत्रीले श्रेष्ठलाई प्रशंसापत्र र नगद ५ हजार १ सय रुपैयाँ प्रदान गरे । चालकहरूको मनोबल बढाउने र उनीहरूको कार्यसम्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम नियमितरूपमा सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार चालक तथा सहचालकले संस्थाको उन्नयनमा पुर्‍याएको योगदानका आधारमा वार्षिकरूपमा सम्मान गर्ने व्यवस्था पनि गरिएको छ । उनीहरूको हितलाई ध्यानमा राख्दै कम्पनीले आकस्मिक कोषसमेत स्थापना गरेको जनाएको छ ।

यसअघि कम्पनीले विश्वकर्मा पूजाका अवसरमा असोज १ गते चालक, सहचालक र यातायात क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेको थियो । त्यसक्रममा हिलिहाङ गाउँपालिका-२ का नरेश मगरलाई उत्कृष्ट चालकका रूपमा ३१ हजार रुपैयाँ र सोही ठाउँका सुवास प्रसाईलाई २१ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यस्तै, सहचालक सुजन हेम्ब्यालाई ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको थियो । यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बिर्तामोड नगरपालिका-५ का तेजप्रसाद कडरियालाई पनि नगदसहित विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ ।

चालक तथा सहचालकलाई सम्मान र प्रोत्साहन गर्ने कार्यक्रमले यातायात क्षेत्रमा कार्यरत जनशक्तिको योगदानको कदर गर्नुका साथै संस्थाप्रतिको अपनत्व बढाउने अपेक्षा कम्पनीले गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, शनिबार ००:००  ९ : ०७ बजे