बिर्तामोड-झापाको बिर्तामोड नगरपालिकाले मानसिक तनाव, चिन्ता, निराशा तथा पारिवारिक र सामाजिक समस्यामा परेका नागरिकलाई स्थानीय तहमै मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन थालेको छ ।
नगरपालिकाले यसै आर्थिक वर्षदेखि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत मनोसामाजिक परामर्श सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।
वैदेशिक रोजगारीका क्रममा देखिने समस्या तथा त्यसले श्रमिक र उनीहरूको परिवारमा पार्ने मनोसामाजिक असरलाई सम्बोधन गर्न पनि कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
बुधबार नगरपालिकाको सभाहलमा सामी कार्यक्रमको चौथो चरणको कार्यान्वयन मोडालिटीसम्बन्धी अभिमुखीकरण गर्दै आर्थिक वर्ष २०८३/८४ का स्वीकृत कार्यक्रमबारे जानकारी गराइएको थियो ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईले स्थानीय तहमै मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध हुन थालेपछि नागरिकमा देखिने मानसिक समस्याको न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले मानसिक तनाव, चिन्ता, निराशा तथा पारिवारिक र सामाजिक समस्याको समयमै पहिचान गरी आवश्यक परामर्श र उपचार प्रक्रियामा सहजीकरण गर्न कार्यक्रम उपयोगी हुने बताए ।
नगरपालिकाका अनुसार मनोसामाजिक परामर्श, सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जानकारी तथा आवश्यक सहयोगका लागि रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।
कार्यक्रममा सामी प्रदेश कार्यक्रम संयोजक गीता वञ्जारा, जिल्ला कार्यक्रम संयोजक शेखर बुढाथोकी र कार्यक्रम अधिकृत रोहित विश्वकर्माले सहजीकरण गरेका थिए ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, उपसचिव तिलचन भण्डारी, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता थियो ।


















