२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

उज्यालो नेपाल पार्टीको मेचीनगर नेतृत्वमा कोपिला लावती



झापा– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले नगरस्तरमा संगठन विस्तार गर्दै कोपिला लावतीको अध्यक्षतामा १५ सदस्यीय मेचीनगर समिति गठन गरेको छ ।

मेची उद्योग वाणिज्य संघको हलमा आज सम्पन्न पार्टीको प्रथम नगर सम्मेलनले लावतीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बुधराम हेमरन, सचिवमा केपी सिवाकोटी र कोषाध्यक्षमा रुपनारायण तामाङ चयन भएका छन् ।

समितिका सदस्यमा केशव आचार्य, तुलसा कट्टेल, राजीव गौतम, सुरज कार्की, प्रशंसा लामा, जितेन लावती, राजेश पराजुली, फुलकुमारी तुमरुक, प्रजिता थापा, रमेश रिजाल र भोगेन्द्र लावती चयन भएका छन् ।

नगर सम्मेलन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीकी केन्द्रीय सचिवालय सदस्य किशोरी कार्कीले संगठन विस्तारसँगै जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्ने बताइन् । स्थानीय नागरिकका आवश्यकता र समस्यालाई केन्द्रमा राखेर काम गर्न उनले नवनिर्वाचित समितिलाई आग्रह गरिन् ।

पार्टीका केन्द्रीय सदस्य सन्तोष आचार्यले संगठन निर्माणको आधार जनताको विश्वास भएको बताए । पार्टीका नीति र प्रतिबद्धतालाई व्यवहारमा उतार्दै जनताका मुद्दामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अग्निमाया मेचे, दुर्गा तामाङ र टुपेन्द्र एक्तेन, प्रदेश उपाध्यक्ष मेखबहादुर तामाङ, झापा अध्यक्ष सिके बेघा, युथ फ्रन्टका प्रमेश थापा, बुद्धिजीवी सुवर्ण भट्टराई र नागरिक अगुवा दिलिप सुब्बालगायत सहभागी थिए ।

नरेश लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केपी सिवाकोटीले गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार ००:००  १० : १९ बजे